दुग्ध विकास संस्थानले प्रदेश १ का १९ हजार किसानको साढे पाँच करोड भुक्तानी गर्न बाँकी

किसान भन्छन्–‘गाई भैंसीलाई दाना खुवाउने कसरी ?’

विराटनगर, १५ असार । बजारमा दुग्धजन्य पदार्थको विक्री घटेपछि दुग्ध विकास संस्थानको विराटनगर दुग्ध वितरण आयोजनाले १९ हजार किसानको ५ करोड ५० लाख भुक्तानी रोकेको छ ।

कोभिड १९ का कारण बजार घटेपछि आयोजनाले किसानलाई भुक्तानी रोकेको हो । समयमा नै भुक्तानी नपाएका कारण प्रदेश १ किसानहरू समस्यामा परेका छन् ।

धनकुटाको छथर जोरपाटीका किसान डिकबहादुर खड्काका ३२ माउ गाई छन् । उनले लकडाउनका बेला दैनिक २ सय २० लिटर दूध स्थानीय चिस्यान केन्द्रलाई दिए ।

चिस्यान केन्द्रले दुग्ध वितरण आयोजना विराटनगरलाई दूध बिक्री ग¥यो । उसले चिस्यान केन्द्रबाट १० लाख रुपैयाँ पाउन बाँकी छ । रकम भुक्तानी नहुँदा गाईलाई खुवाउने पोषिलो दाना खुवाउन पाएका छैनन् । दाना खुवाउन नपाएका कारण उनको गाईको दैनिक दूध उत्पादन घटेर ४० लिटरमा झरेको छ । उनले स्थानीय माउन्ट मकालु चिज कारखानालाई समेत दूध बिक्री गर्दै आएको थिए । त्यहाँबाट पनि उनले भुक्तानी पाएका छैनन् ।

अर्का किसान घमण्डबहादुर थापाले समयमा दूधको रकम भुक्तानी नपाउँदा गाईलाई खुवाउने दानाको समस्या भएको बताए । उनका अनुसार लकडाउने एक त पशु आहारा नै पहाडमा ढुवानी नभएर पाइएको छैन भने अर्काेतिर नगद किनेर ल्याउन पैसा छैन । पैसा नहुँदा दूधको उत्पादनसमेत घटिरहेको उनले बताए । उनका ९ माउ गाई छन् । उनी पहिले दैनिक एक सय लिटरसम्म दूध बिक्री गर्दै आएका थिए । अहिले घटेर दैनिक ७० लिटर मात्र दूध बिक्री गरिरहेका छन् ।

लकडाउनको कारण विराटनगर दुग्ध वितरण केन्द्रले दुग्धजन्य पदार्थ सामान्य मात्र बिक्री गर्न पायो । जसको कारण वैैशाख र जेठ महिनाको किसानको दूधको भुक्तानी बक्यौता रहेको विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादवले जानकारी दिए । उनका अनुसार दुई महिनाको किसानको ५ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न ब“ाकी रहेको छ ।

लकडाउनको कारण विवाह, ब्रतबन्धलगायतका धेरै मानिस भेला भएर गर्ने भोजभतेर तथा अन्य कार्यक्रमहरूमा सरकारले १५ जनाभन्दा बढी भेला हुन नपाउने नियम लगाएपछि दुग्धजन्य पदार्थहरूको बिक्री सिजनमा समेत नभएको उनले यादवले बताए ।

२० करोडको उत्पादन गोदाममै

वराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादवका अनुसार अहिले विराटनगर दुग्ध वितरण केन्द्रको गोदाममा २० करोड ९८ लाख रुपैयाँ बराबरको धुलो दूध, घ्यू र मख्खन थन्किएको छ ।

गोदाममा ८३ लाख मूल्यबराबरको १० टन घ्यू थन्किएको छ । घ्यूको मूल्य प्रतिकिलो ८ सय ३० रुपैयाँ हो ।

१२ करोड ६६ लाख मूल्य बराबरको २ सय १८ टन धुलो दूध र ७ करोड ४९ लाख बराबरको मख्खन गोदाममा छ ।

पाउडर दूध प्रतिकिलो ६ सय र मख्खन प्रतिकिलो ७ सय रुपैयाँ पर्छ । लकडाउनका कारण बिहे, ब्रतबन्धलगायतका उत्सव र भोजहरू भएनन् । भए पनि सीमित मानिस बोलाएर गरियो । जसले गर्दा घ्यू, पनीर, मखन, दहीजस्ता दुग्धजन्य उत्पादनको बिक्री ह्वात्तै घटेको छ । त्यसैले आयोजनाले भएको दूधलाई धुलो दूध बनाउँदै गोदाममा राख्ने काम भइरहेको यादवले बताए ।

प्रदेश १ का विभिन्न जिल्लाबाट दुग्ध वितरण आयोजनाले दैनिक ४० हजार लिटर दूध संकलन गरिरहेको छ । जबकी आयोजनाले दैनिक बढीमा ७ हजार लिटरको मात्र बिक्री वितरण गरिरहेको छ ।

बाँकी ३३ हजार लिटर दूधबाट पाउडर बनाउने काम गरिरहेको छ । प्रमुख यादवका अनुसार आयोजनाले प्रशोधित दूध ४ हजार लिटर बिक्री गरिरहेको छ । बा“की ३ हजार लिटरबाट घ्यू, पनीर, दही, मखन आदि उत्पादन गर्ने गरेको छ ।

संस्थानअन्तर्गतका हेटौंडा र बुटवलस्थित आयोजनामा दूध बढी भयो भने धूलो दूध उत्पादनका लागि विराटनगर नै पठाउने गरिन्छ । हाल हेटौंडा र बुटवलबाट दूध आउन बन्द भएको यादवले बताए । यसअघि दुबैतिरबाट गरेर दैनिक ३० हजार लिटर दूध आइरहेको थियो ।

आयोजनालाई १ सय ३० सहकारी संस्थामार्फत् १९ हजार किसानले दूध दिइरहेका छन् । आयोजनाले दुग्धजन्य उत्पादनको बिक्री–वितरण सहज रूपमा गर्न सके मात्र किसानलाई समयमा नै भुक्तानी गर्न सकिने प्रमुख यादवले बताए ।

प्रदेश १ मा दूधको उत्पादन र निजी क्षेत्रमा डेरी खुल्ने क्रम बढेसँगै विराटनगर दुग्ध वितरण आयोजनाको बजार पनि खुम्चँदै गएको छ ।

५ वर्ष अघिसम्म दैनिक २० हजार लिटर दूध र दूधजन्य पदार्थ बिक्री गर्दै आएको आयोजनाले अहिले दैनिक ७ हजार लिटरमा सीमित हुनु परेको छ । पा“चथर, इलाम, तेह्रथुम र धनकुटा जस्ता पहाडी क्षेत्रका किसानको दूध भने आयोजनाले मात्र खरिद गरिरहेको छ ।

उत्पादन लागतलाई दृष्टिगत गर्दै निजी डेरीहरू दूध संकलन गर्न टाढा–टाढा र पहाडी क्षेत्रमा जाँदैनन् किनकि त्यहा“बाट कारखाना स्थलसम्म ल्याउँदाको ढुवानी खर्च नै महँगो हुन्छ । सरकार–नियन्त्रित संस्थान भने दुर्गम भेकमा गएर पनि किसानको दूध संकलन गरिरहेको छ ।

Loading...