बुधनगर क्षेत्र डुबान : पुल चाहिन्थ्यो तर भारतले ड्याम बनायो – मेयर पराजुली

विराटनगर, १५ असार । परेको पानी निकास नहुँदा विराटनगर– १८ बुधनगर क्षेत्र जलमग्न छ ।

रेल्वे सेवाका लागि भारतले निर्माण गरेको लिक र सीमा क्षेत्रमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसीपी)का कारण बुधनगर क्षेत्र डुबानमा परेको हो ।

नाकामा आइसीपी र रेल्वे लिक निर्माण गर्दा ध्यान नदिएका कारण वडा नम्बर १८ डुबानमा परेको मेयर भीम पराजुली बताउँछन् ।

‘परेको पानी निकाशका लागि पुल चाहिन्थ्यो । तर भारतले ड्याम बनायो,’ पराजुलीले भने, ‘ पुल बनाउन संघीय र प्रदेश सरकारलाई भनेका छौं तर पहल भएको छैन ।’

रेल्वे लिकमा बिछ्याइएको स्थानमा निकाशका लागि पुल नबनाएसम्म विराटनगर– १८ को डुबान समस्या सामधान नहुने उनले बताए । ‘आइसीपीका नाममा बुधनगर क्षेत्रमा ड्याम बनाइएको छ,’ उनले भने, ‘हामीले डे वानदेखि निकाशका लागि पुल बनाउन भन्दैछौं ।’

विराटनगरको अन्य क्षेत्रमा डुबानको ठूलो समस्या नभएपनि आइसीपीका कारण बुधनगर क्षेत्र डुबान भएको उनले बताए ।

डुबान पीडित स्थानीयले राहत पाउँदैनन्

परेको पानी निकास नहुँदा विराटनगर– १८ का चार गाउँ डुबानमा छन् । विराटनगर १८ का वडा अध्यक्ष राजदेव यादवका अनुसार खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल बढी डुबानमा परेका हुन् । पछिल्लो चार वर्षयता डुबानमा परेका स्थानीयले राहत पाउँदैनन् ।

‘असारबाट असोजसम्म पानी रहन्छ । सधै डुबिन्छ तर सरकारले ध्यान पुर्‍याउँदैन्’, स्थानीय अशोक यादव भन्छन्, ‘राहत पनि दिँदैनन्, समस्या सामधान पनि गर्दैनन् ।’

सडकमा पाँच फिट अग्लो ड्याम बनेको छ । रेल्वे लिकमा १० देखि १२ फुटसम्म अग्लो ड्याम बनाएको छ ।

ड्यामका कारण धेरै किसानले रोपेको धान नष्ट हुने अवस्थामा पुगेको छ । रोप्न बाँकी खेतमा डुबानको कारणले रोपाई गर्न नपाएको कृषक चन्द्रकिशोर मण्डलले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले डुबान समस्याका बारेमा केन्द्रमा जानकारी गराएको बताए ।

आइसीपी उद्योग वाणिज्य मन्त्रालय मातहत पर्ने बताउँदै उनले भने, ‘मन्त्रालमा मैले मौखिम जानकारी गराएको छु । प्राविधिक टोली आएर मूल्यांकन गर्छ होला ।’

Loading...