लिभरपुललाई सिटीले ‘गार्ड अफ अनर’ दिन्छ, किनकि उनीहरू यसका लागि योग्य छन् : ग्वार्डीओला

एजेन्सी, १५ असार । ३० वर्षपछि इंग्लिस प्रिमियर लिग उपाधि जितेको लिभरपुललाई म्यानचेष्टर सिटीले सम्मान गर्दै ‘गार्ड अफ अनर’ दिने भएको छ ।

बिहीबार यी दुई टोलीबीच हुन लागेको भिडन्तअघि गार्ड अफ अनर दिइने सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले पुष्टि गरेका हुन् ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीले चेल्सीसँग २–१ गोलान्तरको हार भोगेपछि अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुल सात खेलअगावै लिग विजेता बनेको थियो ।

बिहीबार सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुने खेल लिभरपुलको लागि उपाधि प्रिमियर लिग उपाधि जितेपछिको पहिलो खेल हुनेछ ।

लिभरपुललाई सम्मान गर्ने विषयमा बोल्दै ग्वार्डीओला भन्छन्, ‘लिभरपुल गार्ड अफ अनरका लागि योग्य छ र हामीहरू सम्मान गर्न तयार छौं ।’

Loading...