मौसमले साथ दिएपछि रोपाइँ छिटो

प्रदेश १ मा २२ प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर, १५ असार । मनसुन चाँडो सक्रिय भएपछि यस वर्ष किसानले चाँडै रोपाइँ सुरु गरेका छन् । जसको कारण असार दोस्रो सातासम्म प्रदेश १ मा २२ प्रतिशत रोपाइँ सम्पन्न भयो । अघिल्लो वर्षको तुलनामा यो ५ प्रतिशतले बढी हो ।

अहिलेसम्म प्रदेश १ मा २१ दशमलव ४८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गत वर्ष १७ दशमलव ०४ प्रतिशत रोपाइँ भएको थियो । प्रदेश नम्बर एकको कृषि निर्देशनालयका अनुसार प्रदेशभर ७३ हजार २ सय २३ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा धान खेती हुने गरेको छ ।

यस वर्ष गतवर्षको तुलनामा ४ दशमलव ४४ प्रतिशत धेरै रोपाइँ भएको कृषि निर्देशनालयले जनाएको छ । गतवर्ष यही समय प्रदेश एकभरि १७ दशमलब ४ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । प्रदेशममा अब ७९ दशमलब ५२ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुन बाँकी छ ।

यस वर्ष सबैभन्दा बढी मध्य पहाडी क्षेत्रमा २९ दशमलब २४ प्रतिशत रोपाइँ भएको छ । उच्च पहाडी क्षेत्रमा सबैभन्दा कम रोपाइँ भएको छ । जहाँ १४ दशमलब ६१ प्रतिशत भएको छ ।

प्रदेश एकको तराई क्षेत्रमा १९ दशमलव ९ प्रतिशत रोपाइँ भएको छ । उच्च पहाडी क्षेत्रमा पर्ने जिल्लाहरू ताप्लेजुङमा १४ प्रतिशत, संखुवासभामा १० प्रतिशत सोलुखुम्बुमा ६० प्रतिशत धान रोपाइँ भएको छ । २४ हजार १ सय १३ हेक्टर क्षेत्रफल भएको उच्च पहाडी क्षेत्रमा ३ हजार ५ सय २३ दशमलव २८ हेक्टरमा धान रोपाइँ भइसकेको छ ।

मध्य पहाडी क्षेत्रमा पर्ने जिल्लाहरू पाँचथरमा १७ प्रतिशत, इलाममा १५ प्रतिशत, भोजपुरमा ४० प्रतिशत, तेह्रथुममा ५० प्रतिशत, धनकुटामा ४० प्रतिशत, उदयपुरमा २० प्रतिशत, ओखलढुंगामा १७ प्रतिशत र खोटाङमा ३० प्रतिशत रोपाइँ सकिएको छ ।

९० हजार ९ सय १६ हेक्टर क्षेत्रफल भएको मध्य पहाडी क्षेत्रमा २६ हजार ५ सय ८४ दशमलव ९७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । त्यसैगरी तराई क्षेत्रमा पर्ने जिल्लाहरू भmापामा १५ प्रतिशत, मोरङमा ३० प्रतिशत र सुनसरीमा २५ प्रतिशत धान रोपाइँ सकिएको छ ।

२ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफल भएको तराई क्षेत्रमा ४३ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ ।

Loading...