कोरोना फैलन नदिनका लागि आवतजावतमा कडाइ

बागलुङ, १५ असार । बाग्लुङको काठेखोला गाउँपालिकाले कोरोना फैलिन नदिनका लागि आवतजावतमा कडाइ गरेको छ ।

क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि सो गाउँपालिकाले गए राति १२ बजेदेखि आवतजावतमा कडाइ गरेको हो ।

आइतबार रातिबाट आगामी २० असार राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटल, खाजा घर खोल्न नपाइने भएको छ ।

एम्बुलेन्स, दूधको गाडी, ट्याक्टर, टिपर, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारी साधन भने चल्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए ।

अनुमति लिएर मध्यपहाडी लोकमार्गमा गुड्ने सवारी साधनले पनि गाउँपालिकाभित्र यात्रु चढाउन, ओराल्न र बीचमा रोक्न नपाउने उनको भनाइ छ ।

क्वारेन्टिन बाहिर रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा फैलन नदिन गाउँपालिकाले उच्च सतर्कता अपनाएको हो ।

शनिबार साँझ वडा– ५ स्थित अमर माध्यमिक विद्यालयको क्वारेन्टिनमा खटिएका एक सुरक्षाकर्मीसहित खाना पु¥याउने महिला र उनका सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यी तीनसहित काठेखोलामा हालसम्म २६ जनामा कोरोना देखिएको छ । यसअघि गत चैतमा बेल्जियमबाट आई घरमै बसेका बेला बागलुङ नगरपालिकाका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसयता भेटिएका सबै संक्रमित भारतबाट आई क्वारेन्टिनमा बसेका व्यक्ति हुन् । जिल्लामा हालसम्म १७९ जनामा कोरोना संक्रमण देखिएको छ । निको हुनेको संख्या २४ छ ।

Loading...