यस्ता छन् दही चिउरा खानुका फाइदाहरू

विराटनगर, १५ असार । आज १५ असार अर्थात् राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिन ।

रोपाईंहरूको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्यस्तताबीच थकाइ मारिने चाड हो, दही चिउरा, आँपलगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने भएकालेनै आषाढे पन्ध्रलाई दही चिउरा खाने दिन पनि भनिन्छ ।

पहिलादेखि नै परम्परागत रूपमा चलिआएको आजको दिनमा दही चिउरा खाएर दिनको सुरुवात गरिन्छ । दही र चिउरा दुवै नै शरीरका लागि फाइदाजनक हुन्छ ।

दहीमा भिटामिन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता तत्वहरू पाइन्छ जसले गर्मी महिनामा शरीरको तापक्रमलाई नियन्त्रणमा राखेर शितलता प्रदान गर्छ ।

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन प्रक्रियालाई सहयोग पुर्‍याउँछ । दहीको सेवनले दाँत, हड्डी तथा नङको विकासमा धेरै सहयोग पुर्‍याएर ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकारविरुद्ध लड्न मद्दत गर्छ ।

नियमित दहीको सेवन गर्दा शरीरमा भएको खराब कोलेस्टेरोलरको मात्रा घट्नुका साथै उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोग हुन दिँदैन ।

दहीको सेवनले दिमागलाई नियन्त्रणमा राखेर तनाब र चिन्ता हुन दिँदैन ।

चिउरामा शरीरलाई चाहिने आइरन, कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन बी र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ ।

चिउरा अन्य खाद्य पदार्थभन्दा भारी भएको हुँदा चिउराको सेवनले छिन छिनमै भोक लाग्ने समस्यालाई कम गर्छ ।

चिउरा चपाउँदा दाँत र मुखको कसरत हुने भएकाले यसले दाँतलाई पनि बलियो बनाउन मद्दत गर्छ ।

चिउरा निकै सजिलै पच्ने तथा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले चिउराले शरीरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गरी पाचनमा समस्या हुन दिँदैन ।

धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउने हुँदा चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्‍याउँछ ।

दही र चिउरालाईसँगै सेवन गर्दा शरीरलाई चाहिने विभिन्न आवश्यक पोषक तत्व एकै पटक सजिलै प्राप्त हुन्छ ।

दही र चिउरा खाँदा रोगप्रतिरोधात्मक शक्तिको विकास गरी विभिन्न रोगबाट लड्ने क्षमतामा प्रदान गर्छ । दही र चिउराको सेवनले हड्डीलाई बलियो बनाउन, पेट शित्तल पारेर पाचन प्रणाली सुधार गर्न मद्दत गर्छ ।

दही र चिउराको नियमित सेवनले तौल नियन्त्रण गर्नुका साथै एसिडिटी, ग्यास्ट्रिक, अल्सर तथा ठूलो आन्द्राको क्यान्सरको समस्याहरूबाट जोगाउने गर्छ ।

दहीमा न्यून मात्रामा बोसो र चिनीको हुने भएकोले शरीरमा चिनीको मात्रा नियन्त्रण गरेर कोलेस्टेरोल, उक्त रक्तचाप, मधुमेह तथा विभिन्न मुटुमा हुने रोगहरू छिट्टै लाग्न दिँदैन ।

Loading...