सलहको झुण्ड प्रदेश १ को पहाडी जिल्लामा

विराटनगर,१५ असार । प्रदेश १ को पहाडी जिल्लामा पनि सहल किरा भेटिएको छ । शनिबार भारतको बिहारबाट रुपन्देही हुँदै नेपाल प्रवेश गरेको सलह किरा प्रदेश १ को पहाडी जिल्लामा पनि देखिएको हो ।

आइतबार पहाडका दुई जिल्लामा सानो झुण्डमा सलह किरा देखिएको प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले जानकारी दिए ।

‘पाँचथर र खोटाङमा सलह देखिएको रिपोर्टीङ भएको छ । ’उप्रेतीले भने ‘ तर आतिनु पर्दैन्, ८–१० वटाको झुण्ड देखिएको हो ।’

उनले विराटनगरका केही स्थानमा पनि १–२ वटा सलह किरा भेटिएको जानकारीमा आएको बताए । प्रदेशका अन्य क्षेत्रमा पनि छिटफूट रुपमा सलह भेटिएको रिपोर्टीङ भएको बताउँदै उनले प्रदेश १ मा देखिएका किराले तत्काल क्षति गर्ने अवस्था नरहेको बताए ।

‘अहिले देखिएको सलह सानो झुण्डमा छ ।’ उनले भने ‘ एक दिनमा १५० किलोमिटरसम्म यात्रा गर्न सक्छ । हावाको गतिसँगै कतैबाट छुट्टीएर आएको हुनसक्छ ।’

मन्त्रालयले प्रदेशमा किरा प्रवेश गरे औषधि छर्कने तयारी गरेको छ । आइतबार सहलको सम्भावित जोखिम नियन्त्रणका लागि छलफल भएको थियो ।

‘विषादीको अवस्था र औषधि छर्ने मेसिनको अवस्था हेर्दैछौं ।’ उनले भने ‘ सलहलाइ नियमित अवस्था अध्ययन गरिरहेका छौं, प्रदेशमा आउने जाेखिम देखिए थप कदम चाल्छाैं ।’

Loading...