सर्लाहीमा कांग्रेस–नेकपा कार्यकर्ताबीच झडप, १८ जना घाइते

सर्लाही, १५ असार । सर्लाहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन् ।

सर्लाहीको धनकौल गाउँपालिकामा गए राति भएको झडपमा दुर्वैतर्फका गरी १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीलाई गोली समते लागेको स्थानीयले जानकारी दिएका छन् ।

सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न ठाउँमा जुलुस प्रदर्शन गरेका थिए ।

धनकौलमा भएको जुलुसकै क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो ।

घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ ।

घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिएका छन् ।

तर, पक्राउ परेकाको नाम भने उनले खुलाएनन् ।

नेकपा कार्यकर्ताले कांग्रेस कार्यकर्ताले गोली चलाएको आरोप लगाएका छन् ।

रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो ।

रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ ।

तर, कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

Loading...