तीन दिन लगातार वर्षाको संभावना, कन्काई र कोशीसहितका नदीको बहाव बढ्ने

काठमाडौं, १५ असार । नेपालमा थप तीन दिन लगातार वर्षाको संभावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न भू–भागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भू–भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ ।

दिउँसोसम्म प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

आजै राति मुलुकका अधिकांश भू भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

यस्तै मंगलबार र बुधबार पनि मुलुकभर वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

मुलुकभर वर्षा नरोकिँदा विभिन्न नदी तथा खोला खोल्सीमा पानीको वहाव उच्च भई बाढी पहिरो एवं डुबानको खतरा रहेकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।

महाशाखाले भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले हिँडडुल गर्दा पनि सावधानी अपनाउन आह्वान गरेको छ ।

महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मुलुकका विभिन्न स्थानमा न्यूनतम २ मिलिलिटरदेखि अधिकतम १३० मिलिलिटरसम्म वर्षा भएको छ ।

आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी ३ दिन कन्काईको केही सहायक नदीमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने भएकाले नदी आसपास क्षेत्रका बस्तीमा सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

Loading...