तीन देशलाई उछिन्दै कोरोना प्रभावित देशको ६१ नम्बरमा नेपाल

विराटनगर, १४ असार । नेपाल कोरोना प्रभावित देशको सूचीको ६१ नम्बरमा पुगेको छ ।

विश्वभरका २ सय १५ देशहरूको सुची समावेश गरिएको वर्ल्डोमिटरको तथ्याङक अनुसार कोरोना भाइरस रोग ९कोभिड १९० बाट प्रभावित देशहरूमध्ये नेपाल अहिले ६१ नम्बरमा पुगेको हो । शनिबार नेपाल ६४ औं स्थानमा थियो ।

संक्रमितको संख्यामा नेपालले आज क्यामेरून, डेनमार्क र साउथ कोरियालाई उछिनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार नेपालमा पछिल्लो २४ घण्टा यता थप ४ सय २३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५ महिला र ३ सय ५८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । हालसम्म २८ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज थप १ सय ७९ जनाले कोरोना जितेका हुन् । नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या ३ हजार १३ सय पुगेको छ भने ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

Loading...