सलह भगाउन सामुहिक अभियान, धानको व्याड र नर्सरी छोप्न सरकारको अनुरोध

काठमाडौं, १४ असार । सलहको प्रकोप नियन्त्रणका लागि सरकारले आवाज निकालेर, धुवाँ बालेर सलहको झुण्डलाई बस्न नदिने सामूहिक अभियान चलाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

शनिबारबाट नेपालमा पनि सलह किरा देखापरेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पु¥याउने अभियान चलाउन आग्रह गरेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले छोपेर बाली बचाउन आग्रह गरेको छ ।

टनेल भित्रको बालीलाई वरिपरिबाट किरा छेक्नेगरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताए । किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाई केही दिन पर सारेर गर्दा पनि क्षति कम हुने बताए ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले अहिलेसम्म नेपाल आइपुगेको सलह किराको समूहले क्षति नपुर्याएको बताए ।

मन्त्रालयले विषदीको लागत राख्न पनि आग्रह गरेको छ । स्थानीय एग्रोभेटहरुलाई आग्रह गरी तयारी अवस्थामा राख्न पनि आग्रह गरेको हो ।

खेतबारी, सार्वजनिक स्थान वा जंगलमा किराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । विषादी प्रयोग गर्दा साँझपख वा विहानै स्प्रेयरबाट छरेर सलह किरा मार्न सकिन्छ ।

Loading...