काेराेनाकाे असर कांग्रेस महाधिवेशनमा पनि, कार्यतालिका हेरफेर गर्न केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, १४ असार । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदधाधिकारी बैठकले १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक १६ असार दिउँसो १ बजेका लागि बोलाउने निर्णय भएको कांग्रेस नेता रमेश लेखकले बताए ।

पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भएको थियो । नेता लेखकका अनुसार असार मसान्त सम्म समायोजनको काम सक्ने, साउन मसान्तमा क्रियाशिल सदस्यता वितरण गर्ने, त्यसपछि उजुरी लिने र मंसिरमा सबै काम सकेर पुुस महिनामा स्थानीय तहको महाधिवेशन गर्ने विषयमा मोटामोटी छलफल भएको बताए ।

कांग्रेसले यस अघि १४ औं महाधिवेशन आउँदो फागुन ७ गतेदेखि १० गते सम्म गर्ने निर्णय गरेको थियो । तर कोरोना भाइरसको कारण संक्रमण फैलिदै गएपछि महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको थियो ।

कोरोनाका कारण लकडाउन भएपछि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै अनिश्चितकालका लागि स्थगित गरेको थियो । कांग्रेस नेता प्रकाशसरण महतले महाधिवेशन कार्यतालिकाला हेरफेर गर्ने नगर्ने विषयमा केन्द्रीय समितिले नै निर्णय गर्ने बताए ।

Loading...