लकडाउनका कारण बालबालिकामा मानसिक समस्या

खोप बन्द हुँदा स्वास्थ्य जोखिममा

वेदराज पौडेल

इनरुवा (सुनसरी), १४ असार । कोरोनाको कारण तीन महिना लगातार लकडाउन भएपछि घरमा बस्न बाध्य भएका बालबालिकामा मानसिक असर पर्न थालेको छ । विद्यालय बन्द भएको कारण पढाई समेत प्रभावित बनेको छ भने खोपकेन्द्र नखुल्दा नियमित खोप लगाउनु पर्ने १५ महिना मुनिका बालबालिकाको खोपसमेत प्रभावित बनेको छ ।

लामो समय लकडाउनको कारण बालबालिकामा चिढचिढाहट, बढीरुने, झगडा गरिहने प्रबृति बढ्दै गएकोे छ ।

इनरुवा ३ की ममता यादवकी ३ बर्षकी सानी छोरी मन्टेश्वरीमा पढ्थिन । लक डाउनको कारण लामो समय घर भित्रै रहदा पहिलेको भन्दा छोरीको आनिबानीमा निकै ठुलो परिवर्तन आएको उनको अनुभव छ ।

कोरोना सर्ने डरले केटाकेटी लिएर बाहिर निस्कन समेत जोखिम रहेको बेला घरमा नै बस्दा ठूला मानिसलाई नै मानसिक तनाव बढेको छ भने केटाकेटीमा समेत त्यसको असर देखिन थालेको अनुभव ममताको छ । छोरीमा आएको बद्लाब बारे ममताले भनिन् ‘पहिले खानेकुरा दिदा झगडा नगरि खाने छोरी अहिले केही खान मान्दिनन् ।’

बढी मोबाईलमा रमाउने बानीको कारण खाने कुरामा ध्यान नगएको होकी भनेर उनले मोबाइल दिन छाडिन । तर कुनै फरक परेन । छोरीमा अलिक रिसाहा बानी र कल गर्ने समस्या बढेको उनको अनुभव छ ।

इनरुवा ५ बलाहाका विष्णु श्रेष्ठका सात र आठ बर्षका दुई छोरीहरु छन । लकडाउन भएपछि घरभित्रै बसिरहदा उनीहरुको रुची फेरिएको छ ।

पहिले जस्तो विहान उठेर पढ्ने खाजा, खाना खाएर स्कूल जाने र बेलुका आएर खाजा खाएर पढ्न बस्ने बानीमा परिवर्तन आएको छ । पढाउन खोज्दा उनीहरु झर्कने र रिसाउने गर्छन । उनीहरुले भनेकै हुनुपर्छ भन्ने जिद्दीपन बढी छ । विष्णु भन्छन् ‘केटाकेटीको परिवर्तित बानी ब्यहोरा देखेर छक्क परेको छु, यो पछिसम्म रहन्छकी समयसँगै हराउछ भन्ने चिन्ता लागिरहन्छ ।’

इनरुवा कै शुशिला गौतमका तीन वर्षका छोरा मन्टेश्वरीमा अध्ययनका लागि नियमित जादै थिए । लकडाउन पछि सरकारले बालबालिका र वृद्धवृद्धालाई घरबाट निस्कन कडाई गरेपछि उनी तीन महिनाभन्दा बढी समय कोठामै बसे ।

बाहिर घुमाउन लगिरहनु पर्ने बानीले गर्दा सुरुका दिनमा निकै झगडा गरेपनि उनलाई फकाईफुल्याइ गर्न निकै समय लाग्थ्यो । केही दिन पछि बिस्तारै बाहिर निस्कन कर गर्न छाडेपनि उनमा झगडा गर्ने र स–साना कुरामा पनि रिसाउने बानी लाग्यो ।

कोरोना, मास्क, सेनिटाईजर जस्ता बिषयसँग अभ्यस्त बनेपनि उनले पढाईमा भने ध्यान दिएनन् । टेलिभिजन र मोबाईलमा बढी ध्यान दिएपनि पढाइमा भने ध्याननै नलाएको शुशिला बताउछिन । उनी भन्छिन ‘लक डाउनका बेला बच्चालाई सम्हाल्न निकै कठिन भएपनि अहिले लकडाउन केही खुकुलो हुदा भने केही राहत भएको छ ।’

यी बालबालिका प्रतिनिधि पात्र मात्रै हुन । लामो समयको लक डाउनले बालबालिकामा एकोहोरो टोलाउने, झगडा गर्ने, चिडचिडाउने, रिसाह प्रबृति देखाउने किताब च्यात्ने, खेलौना तोड्ने जस्ता समस्याहरुको देखिन थालेका छन । तर धेरै अभिभावक लकडाउनको कारण बालबालिकामा देखिएको यो मानसिक समस्या हो भन्ने बिषयमा उनीहरु अनविज्ञ छन । तर यो लामो समयसम्म रहेमा यसले थप समस्याहरु निम्त्याउन सक्छ ।

सुनसरीमा लकडाउनको अवधिमा ११ चैतदेखि ३१ जेठसम्म ४१ जनाले आत्महत्या गरेका छन । जसमा दुई बालिका सहित १० महिला र २४ जना पुरुष छन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कमल थापाका अनुसार बालबालिकाले आत्महत्या गर्नुमा मानसिक कारणनै बढी भेटिएको छ ।

नोबेल मेडिकल टिचिङ हस्पिटलका मानसिक रोग विषेशज्ञ डा.मुक्ती आचार्य पहिलेको तुलानामा बालबालिकामा लकडाउनको कारण मानसिक समस्या बढेको बताउँछन । लकडाउन भन्दा अगाडी मानसिक समस्या लिएर ओपिडिमा निकै कम बालबालिका आएपनि पछिल्लो समय मानसिक समस्या लिएर आउने बालबालिका बढेका छन ।

लकडाउनको कारण नियमित क्रियाकलापबाट बञ्चित भएर कोठामा मात्रै सिमिति हुनुपर्दा बालबालिकाहरुमा टोलाउने, कमबोल्ने, झिंझो मान्ने, रिसाउने, झर्कने समस्या बढीरहेको डा.आचार्यले जानकारी दिए ।

पहिले नै केही समस्या भएकाहरुलाई झन बढी मानसिक समस्या थपिएका छन भने केहीमा डिप्रेशन भएको पाइएको छ ।

केहीमा भने मनोत्रास बढेको छ । माइल्ड डिप्रेशन भएकालाई घरमै पनि काउन्सिलिङ गरेर त्यसमा सुधार ल्याउन सकिने तर मध्यमखालको र सिबिअर डिप्रेशनमा भने चिकित्सकको परामर्शमा औषधि नै सेवन गराउनु पर्ने अवस्था रहने डा. आचार्यले जानकारी दिए ।

उनका अनुसार समयमानै बालबालिकामा भएको डिप्रेशनलाई कम गर्न नसकिए यसले निकै ठुलो मानसिक समस्या ल्याउछ त्यसैले बालबालिका अभिभावकहरुले यसमा बेलैमा सचेतता अपनाउदै आफ्ना नानीहरुको आनीबानीमा बारेमा अध्ययन गर्न जरुरी छ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले लकडाउनका कारण सुरुको महिना खोप प्रभावित भएपनि त्यसपछिका दिनमा भने नियमित खोप लगाईरहेको बताए ।

उनका अनुसार जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र तथा हेल्थपोष्टहरुबाट जन्मेदेखि १५ महिनाका बच्चामा ११ वटा रोग विरुद्धको सात वटा भ्याक्सिन लगाईएको छ । जिल्लामा अहिले १८ हजार ७ सय बालबालिका १५ महिना मुनिका छन ।

इनरुवामा मात्रै १५ सय ९६ बालबालिका रहेका छन । स्वास्थ्य प्रमुख प्रसाईले लकडाउन खुकुलो भएपछि खोप सुरुभयो भन्ने जानकारी दिए पनि इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाका कपिलेश्वर साहले चैत ११ पछिबाट कुनैपनि खोप कार्यक्रम सञ्चालन हुन नसकेको बताउँदै दिदै असारको अन्तिम साताबाट पुनः नगरमा नियमित खोप कार्यक्रम सञ्चालन गरिने बताए ।

इनरुवा नगरपालिककी उपमेयर जमुना गौतम पोखरेलले लामो लकडाउनका कारण बालबालिकामा मानसिक समस्या रहेको बताइन ।

बालबालिकाहरु मोबाईल र समाजिक संजालमा तानिएकाले उनीहरुमा मोबाइलको एडिक्सन भएको र त्यसलाई छुटाउनकालागि आगामी बजेटमा बालबालिकाको लागि छुटै मनोविमर्श कार्यक्रम नै राखेको जानकारी दिइन ।

वडालाई नमुना बालमैत्री बनाउने र बालबालिकाको विकासका लागि सामाजिक विकासमा आफुले बजेट बिनियोजनका लागि नगरसभामा पेश गरेको जानकारी दिइन ।‘बालबालिकामा निकै ठुलो समस्या छ’ उनले भनिन् ‘उनीहरुलाई मोबाइल र सामाजिक सञ्जालको लत छुटाउन कार्यक्रम ल्याएका छौं ।’

इनरुवा नगरपालिकाका सुचना अधिकृत निरज पोखरेलका अनुसार चालु आर्थिक वर्षमा बालबालिकाको विकासका लागि नगरपालिकाले विभिन्न शिर्षकमा १५ लाख रुपैया खर्च गरेको छ ।

जसमा कक्षा ८ उतिर्ण दलित तथा अतिविपन्न सामुदायिक विद्यालयका छात्राहरुलाई साईकल बितरण, बालबिकासका लागि अनुदान, अपाङ स्कूल सञ्चालन, निशुल्क सेनेटरी प्याड बितरण, हाजिरि जवाफ, खेलकुद, कविता गोष्ठी, बक्तीत्व कला लगायत कार्यक्रम सञ्चालन भए । विद्यालयको पढाइका अतिरिक्त आयोजित यस्ता कार्यक्रमले बालबालिकाको क्षमता र बौद्धिक विकासमा टेवा पुग्ने पोखरेलले बताए ।

Loading...