प्रादेशिक सञ्चार प्रतिष्ठान समावेशी बनाउन युनियनको माग

विराटनगर, १४ असार । नेपाल प्रेस युनियनले प्रदेश १ सरकारले गठन गर्ने प्रादेशिक सञ्चार प्रतिष्ठान समावेशी बनाउन माग गरेको छ ।

आइतबार मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराउँदै युनियनले समावेशी सहभागिता आधारमा प्रतिष्ठान गठन गर्न माग गरेको हो ।

सरकारको मन्त्रिपरिषद् निर्णयबाट नियमावली बनेर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा प्रतिष्ठान गठन गर्ने सरकारले तयारी थालेको छ ।

नेपाल प्रेस युनियन प्रदेश र मोरङ जिल्ला कार्यसमितिले युनियनका तर्फबाट दुई जना सदस्यलाई प्रतिष्ठानमा स्थान दिन माग गरे ।

युनियनका प्रदेश संयोजक लिलावल्लभ घिमिरेले मन्त्री नै अध्यक्ष रहनुभन्दा पनि पत्रकारिता क्षेत्रमा लामो समय काम गरी योगदान दिएकालाई स्थान दिंदा उचित हुने सुझवा दिदैं भने,“प्रतिष्ठान नै नभएको सन्दर्भमा मन्त्रीकै अध्यक्षतामा भएपनि बन्ने भयो यो नै खुसीको कुरा हो । हाम्रो विमति छैन तर प्रतिष्ठानलाई समावेशी बनाएर लैजानु पर्छ ।’

नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीले प्रतिष्ठानलाई पत्रकारहरुको हितमा सक्रिय बनाउनु पर्ने बताए ।

सल्लाहकार शंकर खरेलले सञ्चार क्षेत्रमा प्रदेश सरकारले प्रतिष्ठान बनाएर पत्रकारलाई विभिन्न कार्यक्रम र प्रशिक्षणमार्फत वृत्ति विकासमा गर्ने योगदानमा युनियनको समर्थन रहने बताए ।

युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले प्रदेश १ मा व्यवसायिक पत्रकारिताको विकासको लागि सरकारले प्रशिक्षण दिने र पत्रकार उपचार कोषमार्फत गर्ने सहयोग सकारात्मक भएको बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले संचारसंस्थाबाट हटाइएका पत्रकारको विषयमा खिसीट्युरी गर्ने गरी सामाजिक सञ्जालमा पोस्ट गरेको अभिव्यक्ति उपल्लो दर्जाको सरकारी व्यक्तिको लागि अशोभनीय भएको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकार संकटमा परेका पत्रकारको साथमा रहने र प्रतिष्ठानलाई पनि व्यवसायिक पत्रकारिताको विकासको लागि अधिक सक्रिय गराउने बताए ।

‘कोभिड १९ का कारण संचार क्षेत्रमा परेको असरबारे हामी जानकार छौं ।’ उनले भने ‘प्रदेश १ सरकार संचारक्षेत्रलाई बचाउन संधै चिन्तित पनि छ । प्रतिष्ठानलाई समावेशी र सबैको प्रतिनिधित्व हुने बनाउने नै योजना छ ।’

Loading...