भूमि फिर्ता ल्याउँदा भारतले मलाई हटाउन खोज्यो, तर नेपालको राष्ट्रियता कमजोर छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १४ असार । नयाँ नक्सा जारी भएपछि भारतले आफूलाई हटाउने षड्यन्त्र गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

लिम्पियाधुरा, लिपुलेक, कालापानीसमेटिएको नयाँ नक्सा जारी भएपछि भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका हुन् ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू विरुद्धको खेलमा नेपालका नेताहरू पनि लागेको दाबी गरेका छन् ।

आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धी गरेलगत्तै हटाइएको बताउँदै उनले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको  गुनासो गरे ।

‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ’ उनले भने ‘भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ।’

उनले होटल तथा भारतीय दुताबासमा धेरै छलफलहरू भइरहेको बताए । ‘१४६ वर्षदेखि हामीले उपभोग गरेको जमिन ५८ वर्षदेखि खाेसिएको छ । त्यो जमिन फिर्ता ल्याउन खोज्यौं, हाम्रो जमिन फिर्ता ल्याउन खोज्यौं अर्काको होइन,’ उनले भने ‘ तर नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ , अहिलेको अहिले केपी ओलीलाई नहटाई हुँदैन् भन्दैछन् ।’

भारतीय दुवाबासको सक्रियता र होटलका कोठामा बैठक भएको बताउँदै उनले भने, ‘नेपालको राष्ट्रियता यति कमजोर छैन, संविधानमा नक्सा छापेबापत देशको प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्ने सोचेको छ भने आजको राष्ट्रिय एकता त्यस्तो कमजोर छैन्, हटाउछु भन्ने नसोचे हुन्छ ।’ 

नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने सपना पूरा नहुने उनले बताए ।  उनले नेपालकाे भूमि फिर्ता ल्याउने बताए ।

Loading...