एक सय १४ वर्षीय वृद्धले जिते कोरोना भाइरस

विराटनगर, १४ असार । इथियोपियाका एक सय १४ वर्षीय वृद्ध कोभिड– १९ बाट चामत्कारिक रूपमा निको भएका छन् ।

बीबीसीले जनाए अनुसार १ सय १४ वर्षीय अबा तिलाहुन वोल्डेमिकाइल १४ दिन अस्पताल बसेर निको भएका हुन ।

उपचारमा संलग्न चिकित्सकका अनुसार राजधानी आदिस अबाबामा गरिएको जाँचका क्रममा अबा तिलाहुनमा कोरोना भाइरस भएको पुष्टि भएको थियो ।

डाक्टर हिलुफ अबातेका अनुसार लक्षण देखिनुभन्दा पहिल्यै अबा तिलाहुनलाई अस्पताल भर्ना गरिएको हुँदा चिकित्सकहरूले राम्ररी उपचार गर्न तथा नजिकबाट उनको अवस्थालाई नियाल्न सकेका थिए ।

एका कोतेबे अस्पतालको कोरोना भाइरस वार्डमा राखिएको चार दिनभित्र भाइरसले कमजोर बनाइदिएपछि अबा तिलाहुनको स्वास्थ्य अवस्था खस्किदै गएको थियो । तर १४ दिन अस्पताल बसाइको क्रममा एक साताभन्दा बढी समय अक्सिजन दिएर उनको उपचार गरिएको थियो ।

विश्वकै सबैभन्दा वयोवृद्ध व्यक्ति पुष्टि गर्नका लागि उनिसँग जन्मदर्ताको कुनै प्रमाणपत्र छैन् । एका कोतेबे अस्पतालले अबा तिलाहुन १ सय १४ वर्षका भएको पुष्टि गर्न सक्दैन, तर उपचारमा संलग्न चिकित्सक टोलीका अनुसार उनी १ सय वर्षभन्दा माथिका पक्का रहेको र उनको उमेर १०९ हुनसक्ने बताए ।

अबा तिलाहुन अहिले आफ्नो २४ वर्षीय नाति बिनयाम तिलाहुनसँग बस्दै आएका छन् ।

Loading...