भारी वर्षा, तर छैन विपतबाट जोगिने पूर्व तयारी

जाजरकोट, १४ असार । कोरोना प्रकोपबाट जोगिन र जोगाउन हम्मे–हम्मे परेको अवस्थामा वर्षायाम शुरु भएको छ ।

कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन ।

जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपत् व्यवस्थापनको मुख्य भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालय समन्वयको अभावमा अलमलमा परेको छ ।

विपत् व्यवस्थापका लागि सामान्य छलफल भए पनि परिणाम आउने गरी काम नभएको यस क्षेत्रका सर्वसाधारण बताउँछन् । शुरुमा लकडाउनका कारण काम गर्न पाइएन, अहिले केही खुकुलो हुँदै गर्दा समय घर्कीसकेको भन्दै काम गर्न मुस्किल भएको स्थानीय तहका अधिकारीको भनाइ छ ।

वर्षाको भेलसँगै उर्लँदै आएका नदी, खोला नियन्त्रणका गर्नका लागि तार, जाली खरिद गरेर जोखिमपूर्ण ठाउँमा लगाउनुपर्ने भए पनि अहिले समयको अभावका कारण सबै कामले गती लिन सकेको छैन ।

सम्बन्धित कार्यालयसँग तारजाली माग्दा आर्थिक वर्ष सकिन केही हप्ता मात्र बाँकी रहँदा काम कसरी हुन्छ भनेर सामग्री उपलब्ध नगराउँदा हैरान भएको बारेकोट गाउँपालिका–४ मैनाका देव बोहोराले जानकारी दिए ।

सरोकारवाला निकायबाट नदी नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध नहुँदा भेरी किनाराका सर्वसाधारण त्रासमा बाँच्न बाध्य भएका हुन् ।

त्यस्तै छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने सडकहरुको बीचमा रहेका खोलामा पानीको मात्रा बढ्दा यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ । बिहीबार जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावल योजना अनुगमन गरी फर्कदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको बाँके खोलामा पानीको मात्रा बढ्दा झण्डै ४ घण्टा रोकिनुपरेको थियो ।

खोलामा नियन्त्रणको काम भएन

सातै वटा स्थानीय तहमा रहेका सानादेखि ठुला गाउँ, बस्तीकै छेउबाट बग्ने खोलाहरुमा रहेका बस्ती र खेतीयोग्य जमीन जोगाउने उपाय अवलम्बन गरिएको देखिएको छैन ।

नलगाड नदी, छेडाखोला, ताँसु गाड खोला, भेरी नदी, पासागाड खोला, सरु खोला र होलुखोलाहरुबाट पर्ने क्षतिका विषयमा अहिलेसम्म कुनै तयारी गरिएको छैन । यी त देखिने खालका खोलाहरु मात्र हुन् ।

अन्य दर्जनौँ साना खहरे खोला भए पनि त्यहाँ पनि नियन्त्रणका लागि पहल भएको छैन । अधिकांश कार्यालयले समय अपुग हुने भन्दै सोहीअनुसार काम गर्न लागेको बताएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय जाजरकोटले मनसुन विपत् प्रतिकार्य योजना बनाउनका लागि तीन महिनाअघि स्थानीय सरकारलाई पत्राचार गरिसकेको बताएको छ ।

स्थानीय भौतिक पूर्वाधार कार्यक्रम ९सांसद विकास कोष० को खर्च हुन नसकेको रकम कोभिड कोषमा जम्मा गर्ने निर्देशन अनुसार जम्मा भएको र सोही रकमबाट मनसुन विपत्को काम गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । रासस

Loading...