एक किलो सलह जम्मा गरे प्रदेश सरकारले २० रुपैयाँ दिने

धानकाे विउ जाेगाउन कृषकलाई आग्रह

बुटवल, १३ असार । सलह जम्मा गरेर ल्याए प्रतिकेजी २० रुपैयाँ दिने प्रदेश ५ सरकारले घोषणा गरेको छ ।

रुपन्देही क्षेत्रमा शनिबार बिहानैदेखि ठूलो समूहमा सलह किरा देखिएपछि सरकारले सलह समातेर ल्याए प्रतिकिलो २० रुपैयाँ दिने दिने घोषणा गरेको हो ।

रुपन्देहीको बुटवल क्षेत्रमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएपछि नियन्त्रणका लागि काम सुरु गरेको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए ।

सलह नियन्त्रणका लागि सलह जम्मा गरेर स्थानीय तहमार्फत वडा कार्यालयमा ल्याएमा प्रतिकिला २० का दरले नगद उपलब्ध गराइने निर्णय भएकाे उनले बताए ।

सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन् ।

बुटवलका विभिन्न क्षेत्रका आकाशमा लाखौंको संख्यामा देखिएको सलह कीरा अहिले बुटवलदेखि उत्तरपश्चिमतर्फ लागेको सचिव सुवेदीले बताए ।

‘यो सलह कीरा नै हो, यसले एक दिनमा आफ्नो तौल बराबरको हरियो बाली खाएर नोक्सान गर्छ”, सचिव सुवेदीले भने ‘ठूलो सङ्ख्यामा आएको सलह कीरा बालीनालीमा बस्यो भने एकै रातमा पूरै सखाप पार्छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सलहको नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अबलम्बन गर्ने र क्षति न्यूनीकरणका प्रयास गर्ने बताइन ।

धान रोप्नका लागि बीउ तयार भएका अवस्थामा सलहले नोक्सान गर्ने सम्भावना रहेकाले बीउ जोगाउन कृषकलाई आग्रह गरिएको उनले बताइन ।

मन्त्रालयले सलह नियन्त्रण गर्न मालाथिन वा क्लोरपाइरिफोस नामका विषादी प्रतिलिटर २ एमएल राखेर छर्कन सल्लाह दिएको छ ।

Loading...