birat ribon

एशियाली विकास बैंकले धरानलाई ठग्नु ठग्यो : गोले

Neuro
एशियाली विकास बैंकले धरानलाई ठग्नु ठग्यो : गोले

धरान, १३ असार । एशियाली विकास बैंकको क्रृण तथा अनुदानमा ल्याइएको अढाई अर्बको धरान खानेपानी आयोजनाले डीपीआरबमोजिम ७ मिटरको पानीको चापमा न्युनतम् १६ घण्टादेखि २४ सै घण्टा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ.) मापदण्डको शुद्ध खानेपानी उपलब्ध गराउने उल्लेख छ ।

Padelux insider
cura insider

तर अहिले दिन बिराएर आधा घण्टामात्र पानी आउने गरेको, पानीको चाप अत्यन्त कम भएकाले पानी तान्न मोटर जडान गर्नु परेको र पानी पनि लेदो मिसिएको आउने गरेको जनगुनासो अनुगमनका क्रममा पाइएकाले एडिवीले धरानलाई ठग्नु ठगेको आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले बताए ।

अनुगमनका क्रममा घरलौरी बाटोमै मोटर जडान गरी पानी तानेको पाइएको उनले बताए । धरानबासी उपभोक्ताहरूले टंकीमा पानी नचढेपछि बाध्य भएर मोटर जडान गर्नु परेको बताएका छन् ।

लेदो मिसिएको पानी त्यो पनि आधा घण्टामात्र आएपछि फोहोर पानी खान बाध्य भएको र फोहोर पानीका कारण स्वास्थ्यमा समेत असर परेको गुनासो उपभोक्ताहरूले गरेका छन् । उनीहरूले पर्याप्त शुद्ध पानी खान पाउनुपर्ने माग गरेका छन् ।

आयोजनाको ९ महिने परीक्षणकाल करिब ३ महिना बाँकी हुँदासमेत आयोजनाले डीपीआर र सम्झौताबमोजिम पानी वितरण गर्न सकेको छैन । अझै उपभोक्ताको हजारौं धारा जडान गर्न बाँकी नै छ ।

डिपीआर मा १ करोड ३ लाख लिटर र सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसँग भएको ११ बुँदे सम्झौतामा १ करोड ५२ लाख २० हजार लिटर पानी प्रतिदिन उत्पादन गर्ने उल्लेख छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा आयोजना प्रमुख राजु पोख्रेलले डिजाइनभन्दा बढी पानी उत्पादन भएको दाबी गर्दै आएपनि यथार्थमा औसत दैनिक ६२ लाख लिटरमात्र उत्पादन भइरहेको संयोजक गोलेले बताए ।

अरबौं लगानीमा निर्माण गरिएको आयोजनाले पनि डीपीआर, सम्झौता एवम् लक्ष्यअनुसार पानी उत्पादन र वितरण गर्न नसकेकाले यो आयोजनाको फिनान्सीयल अडिट र टेक्निकल अडिट गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै आयोजना असफल बनाउने एडिवी, परामर्शदाता, आयोजना प्रमुख र ठेकेदार कसैलाई पनि छोड्न नहुने उनले बताए ।

धरान उपमहानगरले विज्ञमार्पत आयोजनाको अध्ययन र छानबिन गर्ने बताएको महिना दिन बित्दासमेत विज्ञ टोली गठन नहुनुले खानेपानी जस्तो संवेदनशील विषयमा उपमहानगर गम्भीर नदेखिएको र आयोजना सफल भएको प्रमाणीकरण नै नगरी खानेपानी संस्थानको धरान शाखालाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेर सरकारी संरचना मास्न हतारो गरेको आरोप लगाउँदै आयोजना सफल भएको प्रमाणित नहुंदासम्म खानेपानी संस्थानलाई चलाउन नहुने उनले बताए ।

असफल आयोजनाका कारण बोर्डले पानी खुवाउन नसक्ने अवस्था देखिएकाले पनि खानेपानी व्यवस्थापन र आपूर्तिको सुनिश्चिता नभएसम्म संस्थानलाई यथावत राख्नु उचित हुने तर्क गर्दै आयोजनाको पूर्ण परीक्षण र सञ्चालनमा भने संस्थानको सहयोग जारी रहनुपर्ने उनले बताएका छन् ।

jackson ribon