लकडाउनले दृश्टिविहीन चिरन्जीवीको आम्दानी चौपट

विराटनगर, १२ असार । कोरोना भाइरस संक्रमण रोकथामका लागि भएको तीन महिना लामो लकडाउने विराटनगरका दृश्टिविहीन चिरन्जीवी शर्माको व्यापार पनि चौपट बनाएको छ ।

समान्य बेला शनिबार र मंगलबार विराटनगर महानगरका हरेक घर पसलमा पुगेर कागती र खोर्सानीको माला बिक्री गरेर जिवीका चलाउने दृश्टिविहीन चिरन्जीवीको व्यापार तीन महिना लामो लकडाउने गर्दा चौपट बनेको हो ।

सधैँ मंगलबार शनिबार ग्रहदशा भगाउका लागि घर र पसल आगाडि टाँगेर राखिने कागती, लसुन र खोर्सानीको माला घर, घर र पसल पुगेर बिक्री गरेर दृश्टिविहीन चिन्जीवीले ५ देखि सात सय आम्दानी गर्ने गरेका थिए ।

त्यही आम्दानीले उनले आफ्नो चार जनाको परिवार चलाउँदै आएका थिए । तर लकडाउनपछि घरमा जान नहुने र पसलहरू पनि बन्द भएकोले उनले कागती र खोर्सानीको माला बिक्री गर्न पाएनन् ।

अरु बेला मंगलबार शनिबारबाहेकका दिनमा चिरन्जीवी धार्मिक किताबहरू अर्डर गर्ने ग्राहकहरूकोमा पुर्‍याएर बिक्री गर्ने गर्दथे । जसले गर्दा उनलाई केही आम्दानी हुने गर्दथ्यो । हरेक नयाँ वर्षमा चिरन्जीवीलाई क्लालेन्डर बिक्री गर्दा पनि राम्रो आम्दानी हुन्थ्यो । तर लकडाउनले गर्दा उनले यो वर्ष नयाँ क्यालेण्डर पनि बिक्री गर्न पाएनन् ।

लामो लकडाउनले आम्दानी चौपट भएपछि खिन्न भएका चिरन्जीवीले तीन महिनासम्म परिवार पाल्न धौधौ भएको बताए । तर लकडाउन खुकुलो भएसँगै उनले फेरि कागती र खोर्सानीको माला मंगलबार र शनिबार बिक्री गर्न सुरु गर्ने भएका छन् ।

लकडाउने खिन्न भएका चिन्जीवीले भने, ‘ठीकै छ परिवारमा दुःख भएपनि कोरोनाबाट त जोगिएका छौँ नि, अब लकडाउन खुकुलो भयो फेरि काम सुरु गर्छु ।’

घर पसलका दैलाहरूमा शनिबार र मंगलबार धागोमा उनेको हरियो कागती, खोर्सानी र काँचो लसुन उनेको माला झुण्ड्याएमा अरुको नजर लाग्दैन भन्ने आम विश्वास मानिस रूपमा छ । यही विश्वास नै दुवै आँखाको ज्योति नभएका चिरन्जीवीलाई १५ वर्षदेखि परिवार पाल्ने व्यापार बनेको छ । दुवै आँखा देख्ने श्रीमती किरणले धागोमा उनिदिएको कागती, लसुन र खोर्सानीको माला बोकेर हरेक हप्ताको शनिबार र मंगलबार दिनभरि विराटनगरका हरेक चौक र गल्ली पसल र घरघरमा गइ बिक्री गर्दैआएका छन् ।

दृश्टिविहीन चिरन्जीवी सबै गल्ली र घर चहार्छन्

३८ वर्षीय जन्मजात दृश्टिविहीन चिरन्जीवी १५ वर्षदेखि विराटनगरका सबै चौक, गल्ली र व्यक्तिका घरघरमा घुमेर कागती र खोर्सानीको माला बिक्री गर्छन् । छडीको सहारामा व्यस्त नगरमा हिँडडुल गर्न दृश्टिविहीन चिरन्जीवी आँखा देख्नेहरूभन्दा कम छैनन् । उनलाई कहाँ–कहाँ आफ्ना ग्राहक छन् भन्ने कण्ठस्थै छ । तीन तलामाथि बस्ने गृहणी हुन् कि साघुँरो गल्लीका पसलहरू उनी आफूले सधैँ बोक्ने छडीको सहाराले सबै ठाउँमा पुग्छन् ।

विराटगर महानगर जस्तो व्यस्त यात्रु र सवारीको आवतजावत भएको भीडभाडमा पनि चिरन्जीवी आजसम्म कहिल्यै दुर्घटनामा परेका छैनन् । उनलाई महानगरमा कहाँ खाल्डो छ, कुन गल्ली कता र कहाँसम्म जान्छ भन्ने पनि सबै कण्ठस्थ छ ।

संघर्ष गरेर गरिखान प्रेरणा दिने दृश्टिविहीन चिरन्जीवी

चिरन्जीवी दुवै आँखा देख्ने श्रीमती किरणले उनिदिएको कागती हरियो खोर्सानी र लसुनको माला बोकेर मंगलबार र शनिबार विराटनगर डुल्छन् । अरु बेला उनी कहिले पुस्तक, कहिले पत्रिका त कहिले क्यालेण्डर धार्मिक पसलहरू र बजारमा डुलाएर बिक्रि गर्छन् । यसबाहेक उनी सीमावर्ती भारतीय बजार जोगबनी पुगेर उपभोग्य वस्तुहरू ओसारपासर गर्ने काम पनि गर्छन् । उनको लगनशीलता देखेर कसैले पनि उनलाई दृश्टिविहीन र कमजोर भन्दैनन् । ट्राफिक चौकस्थित पब्लिक पुस्तक पसलका सञ्चालक माधव शर्मा जीवनबाट हरेस् खाएका सबलांगहरूले चिरन्जीवीको संघर्षलाई बुझे ‘जीवन हरेस खाएर मरिलान हैन गरिखानका लागि हो’ भन्ने प्रेरणा लिनसक्ने बताउँछन् ।

नेत्रहीन भएपनि कमाएको पैसाले छोराछोरीलाई सुविधासम्पन्न स्कूलमा पढाउँछन्

जन्मदेखिनै आँखा ठयाम्मै देख्न नसक्ने चिरन्जीवी शर्मा ३८ वर्षअधि जन्मिएका हुन् । विराटनगर महानगर–८ शनि मन्दिरमा उनको सानो घर छ । घरमा दुवै आँखाको ज्योति भएकी श्रीमती किरणसँगै १ छोरा र १ छोरीसँग बस्दै आएका छन् । मेहनती चिरन्जीवीले नेत्रहीन भएर पनि दुवै सन्तानलाई आफैँले कमाएको पैसाले सुविधासम्पन्न विद्यालयमा पढाउँदै आएका छन् । आफू जन्मजात दृष्टिविहीन भएपनि उनका सन्तान भने तीक्ष्ण बुद्धि र नेत्र ज्योति भएका छन् ।

कुटानी–पिसानी मील खोल्ने धोको अझै पूरा भएको छैन

दृश्टिविहीन भएकैले चिरन्जीवीले पढ्न पाएनन् । उनकी श्रीमती किरणले ७ कक्षा पढेकी छन् । सानातिनो व्यापार गर्दै जीवन पाल्दै आएका चिरन्जीवीको पैसा कमाएर एउटा कुटानी पिसानीको मील खोल्ने धोको छ । तर कागती बेचेर अनि अरु व्यापारमा सघाएर कमाएको पैसा खाँदै ठिक्क हुने भएकोले उनले मील खोल्न पुँजी बनाउन सकेका छैनन् । नेत्रहीन कर्मठ चिरन्जीवी भन्छन्, ‘खै आफूले पैसा पनि कमाउन सकिनँ अरु कसैले सहयोग पनि गरिदिएनन् । मेरो मिल खोल्ने धोको अूधरै भो । अपांगता भएकाहरूलाई राज्यले उद्योग व्यापार सञ्चालन गर्न ऋण दिने व्यवस्था मिलाइदिनुपर्ने धारणा बोकेका चिरन्जीवी ऋण पाए आँटा मील सञ्चालन गरेर सुखसँग परिवारलाई पाल्ने धोको छ ।

जनप्रतिनिधि हुन पाउँदा दंग

मेहनती चिरन्जीवी कागती खोर्सानी बेच्न बजार पसल डुल्दाडुल्दै राजनैतिक चेतना पनि बढेको छ । उनी आफूसँग सहनुभूति राख्ने शिक्षितहरूसँग कुराकानी गर्न रुचाउँछन् । घण्टौं नेपाली समसामयिक राजनीतिबारे गफिन्छन् । देशमा केही गलत भए चिन्ता व्यक्त गर्छन् । अपांगताको भत्ता पाउने आशमा शाहीकालमा उनी विराटनगर उमहानगरपालिको वडाअध्यक्ष पनि बनेका थिए । तर उनले मासिक पाउने भनेको २५ सय भत्ताचाहिँ पाएनन् । भत्ता नपाएकोमा दुःख भन्दा पनि नगरपालिका जस्तो संस्थामा प्रतिनिधि भएर बैठकमा भाग लिन पाएकोमा उनी खुशी भएको सुनाउँछन् ।

Loading...