ओलीको अनुपस्थितिमा स्थायी समिति बैठक, सीमा विवादमा भारतले वार्ताका लागि चासो दिएन

काठमाडौं, १२ असार । नेकपा स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको छ । ओलीको अनुपस्थितीमै बसेको शुक्रबारको बैठकमा सीमा विवादका बारेमा चर्चा भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमा विवाद तथा समस्या समाधानका लागि भारतसँग भएका प्रयासका बारेमा छलफल भएको हो । व्यस्तताका कारण प्रधानमन्त्री ओली भने बैठकमा उपस्थित हुन पाएनन् ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्र समेटेर नक्सा जारी गरी संविधान संशोधन भइसकेको सम्बन्धमा बैठकमा चर्चा भएको बताए ।

बैठकमा भूमि फिर्ता लिन गरिएका प्रयासबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका थिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले भारतसँग भएका विभिन्न बेलाका सन्धि, सम्झौता र छलफलको प्रगतिको विषयमा जानकारी गराएका थिए । लिम्पियाधुरा, लिपुलेक र कालामानी क्षेत्रको समस्या समाधानका लागि वार्ता गर्न नोभेम्बर, डिसेम्बर र जनवरीमा गरी तीनपटकसम्म पत्र पठाउँदा समेत भारतले चासो नदेखाएको मन्त्री ज्ञवालीले बैठकलाई जानकारी गराएको मन्त्री भट्टराईले बताए ।

मन्त्री ज्ञवालीले कोभिड १९ को महामारी कम भएपछि मात्रै वार्तामा बस्ने अनौपचारीक जानकारी आएको बताए ।

यस्तै छिमेकी चीनसँग पछिल्लो समय सञ्चारमाध्यममा आएजस्तो कुनै सीमा समस्या नरहेको जानकारी समेत गरे ।

बैठकमा विभिन्न १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका छन् । नेताहरुले नेपालको अतिक्रमित भूमि समेटेर सरकारले जारी गरेको नक्साको प्रशंसा गर्दै भूमि फिर्ताका लागि कूटनीतिक सम्वादमा जानुपर्ने नेताहरुले बताए । बैठक शनिबार ११ बजे बस्नेछ ।

Loading...