वर्षेनी डुब्छ विराटनगर, पानी पर्दा सुत्दैनन् बुधनगरवासी (भिडिओ रिपाेर्ट)

डुबानकै कारण एक जनाको ज्यान गयो

शिवहाङ राई

विराटनगर, १२ असार । असार महिना सुरु भएसँगै विराटनगरको दक्षिणी क्षेत्रका स्थानीय त्रसित बनेका छन । वर्षेनी बाढीको समस्या भोग्ने विराटनगर दक्षिणका स्थानीय त्रसित बनेका हुन ।

विराटनगर –१८ बुधनगरका स्थानीवासीमा कसरी जोगिने भत्रे समस्याले सताउन थालेको छ ।

झरीको मौसममा पानी परेसँगै आउने बाढीले उनीहरुको जनजीवनलाई अस्तव्यस्त बनाउन थालेको वर्षौ भई सक्यो । यस वर्षको असारसुरु भएसँगै बुधनगरका स्थानीयहरुमा त्यहीँ पुरानो डर बढ्न थालेको हो ।

आफ्नो घरको धुरीभन्दा अग्लो आईसीपी रोडको बाटो र भारतले निर्माण गरेको रेलमार्गले झनै समस्या थपिएको स्थानीयवासीहरु बताउँछन् ।

स्थानीय शम्भुकुमार यादव जेठ अन्तिमबाट सुरु हुने पानी, बाढीको समस्या असोजसम्म हुने बताउँछन् । ‘आईसीपी रोड बनाउन भन्दा अघिबाट नै समस्या परिरहेको थियो ।’ यादव भन्छन्, ‘अहिले त झन यो रोड बनाएको छ । रोड त बनायो ठिक छ तर पानीको निकासीको पनि निर्माण गरिदिनुपर्र्यो नि ’

स्थानीयबासी चार महिनासम्म बाढी र डुवानको त्रासमा बस्नु परेको उनले बताए । आफूहरुले वर्षायाममा पर्ने गरेको समस्याबारे पटक–पटक मेयर, वडा अध्यक्षलाई भनेको भए पनि सुनुवाई नभएको स्थानीयको गुनासो छ ।

आईसीपी रोड निर्माण गर्दै गर्दा ठेक्का पाएको कम्पनीको इन्जिनियर र मेयरलाई पानीको निकासा हुने गरी व्यवस्था गरिदिन भन्यौ’ यादव भन्छन्,‘न त ठेकदारले सुन्यो न त महानगरपालिकाले सुन्यो ।’

आईसीपी नजिकै सडकदेखि करिब दश फिट गहिरोमा पसल सञ्चालन गर्ने किशोर मण्डलको हालत पनि उस्तै छ ।

ग्राहक पसलसम्म आउन सक्ने गरी बाँसको पुल बनाउँदै गरेका मण्डल भन्छन्, ‘खाल्डोमा पसल छ त्यसमाथि पानी, झरीको मौसम । यहाँ जमेको पानी निकासी हुने ठाउँ कतै छैन । उत्तरतिर रोड छ दक्षिणतिर भारतको रेल कुद्ने ठाउँ छ । अब पानी बढ्दै जान्छ अनि पसल, व्यवसाय सबै बन्द ।’

पसल सञ्चालन गर्न कै लागि आफ्नै खर्चमा बाँसको पुल बनाउन थालेको मण्डल बताउँछन् ।

अर्का स्थानीय भोजराज मण्डल पानी पर्न थालेपछि घरभित्र सबै पानी पस्ने गरेको समस्या सुनाउँछन् । कोशी अनलाईनसँगै कुरा गर्दै मण्डलले भने, ‘घरभित्र बस्न सकिँदैन, निस्केर हिँडौं छातीसम्म पानी भरिन्छ । यता यस्तै समस्या छ, जसलाई भने पनि सुत्रे कसैले होइन ।’

असार महिना लागेसँगै विराटनगरमा दिनहुँ जस्तो पानी पर्न थालेको छ । विराटनगर विमानस्थलमा रहेको हावा, पानी कार्यालयका विकास देउजाका अनुसार शुक्रबार बिहान ८ः४५ सम्म विराटनगरमा ४९.६ मिलीमिटर वर्षा भएको छ ।

झरीको मौसम सुरु हुनासाथ वर्षेनी बाढीको समस्या भोग्न बाध्य रहेका बुधनगरवासीको समस्या समाधान गर्न सके भविष्यमा आई पर्न सक्ने सम्भावित दुघर्टनाबाट बच्न सकिने निश्चित छ ।

वर्षायाम सुरु भएसँगै बुधनगरमा बिहीबार मात्र खेतमा जमेको पानीमा डुबेर सात वर्षीय बालकको मृत्यु भएको थियो ।

आइसीपी निर्माणका लागि बाधिको बाध र रेल निर्माण गर्दा उडाइएको ड्यामले गर्दा बुधनगर क्षेत्र डुबानमा परेको विराटनगर– १८ का अध्यक्ष राजदेव यादव बताउँछन । डुबान निकासीका लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको उनले बताए ।

बर्षेनी डुब्छ विराटनगर, बर्षा सुरुभएसंगै बास गुम्ने चिन्ता – कोशी रिपोर्ट

बर्षेनी डुब्छ विराटनगर, बर्षा सुरुभएसंगै बास गुम्ने चिन्ता – कोशी रिपोर्ट

Posted by Koshi Online on Friday, June 26, 2020
Loading...