विराटनगर, १२ असार । शुक्रबार प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर महानगरपालिका दुईसहित झापामा ४ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६ जना महिला छन् ।
विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार विराटनगर– ६ मा ३१ वर्षीय पुरुष र २१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित दुईजना श्रीमान्-श्रीमती हुन् । उनीहरू भारतको नयाँ दिल्लीबाट नेपाल फर्किएका थिए ।
झापाको दमक नगरपालिकामा १ जना महिला र दुईजना पुरुष, मेचीनगरमा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
सुनसरीको कोशी गाउँपालिकामा ३ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देवानगञ्ज गाउँपालिकामा एक महिला र एक पुरुषमा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मोरङका २, झापाका १ जना र सुनसरीका १० जनाको कोशी अस्पतालमा परीक्षण गरिएको थियो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका तीनजनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ ।
तीमध्ये ३७६ जना उपचारपछि घर फर्किएका छन् ।
बिहीबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २१ जना र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ आइसोलेशनबाट ७० जना डिस्चार्ज भएका थिए ।