भारतले दावी गरेको जमिनमा चीनले सैन्य क्याम्प बनायो

एजेन्सी, १२ असार । भारतले आफ्नो भनेर दाबी गरेको भूमिमा चीनले सैन्य क्याम्प बनाएको छ ।

भारतले आफ्नो भनेर दाबी गरेको पूर्वी लद्दाखको गलवान उपत्यकामा चीनले बंकरलगायत संरचना बनाएको स्याटलाइट तस्बिरमा देखिएको छ ।

दुवै पक्ष वार्तामै रहेका बेला २२ जुनमा ती तस्बिर सार्वजनिक भएको हो ।

चीनले तस्बिरमा बंकर, टेन्ट र सैन्य सामग्री भण्डार गृह तयार गरेको देखिएको छ ।

सीमा क्षेत्रमा चीनले सैन्य संख्या वृद्धि गरेको आरोप भारतले लगाएको छ।

भारतीय रक्षा मामिला विश्लेषक अजय शुक्लाका अनुसार वास्तविक नियन्त्रण रेखाभन्दा डेढ किलोमिटर भारततर्फ चीनले ठूलो सैन्य क्याम्प बनाएको छ ।

पूर्वभारतीय कुटनीतिज्ञ पी स्तोब्दान भने भारतले कुनै वक्तव्य जारी नगरेकाले यसबारे यसै भन्न नसकिने बताउँछन् ।

झडपपछि चीनले भारतका कारण झडप भएको दाबी गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गत साता सर्वदलीय बैठकमा भारतको भूमिमा कोही पनि प्रवेश नगरेको बताएका थिए ।

तर, मोदीको भनाइसँग बाझिनेगरी भारतीय विदेश मन्त्रालयले आफ्नो भूमि चीनले अतिक्रमण गर्न खोजेको आरोप लगाएको छ।

अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनी म्याक्सारले खिचेको ती तस्बिरको विश्लेषण गर्दै रोयटर्सले अघिल्लो महिनासम्म ती संरचना त्यहाँ नभएको जनाएको छ।

यसबारे भारत र चीन दुवैले कुनै टिप्पणी गरेका छैनन् ।

Loading...