विराटनगरको क्वारेन्टाइनबाट क्यान्सर पीडितको बिलौना : ‘छोरा–छोरी सानै छन्, मलाई बचाइदेऊ सरकार’

म राकेशकुमार गुप्ता, उमेर ३५ वर्ष, घर विराटनगर १५ मा पर्छ । घाँटीमा ट्यूमर पलाएपछि अप्रेशन गर्न भारत गएको थिएँ । अपरेशन पनि भयो । लकडाउन भएका कारण उतै रोकिएँ । भारतमा २१ दिन क्वारेन्टाइन बसेर यहाँ आएँ । होम क्वारेन्टाइनमा बस्न दिएनन् ।

पाँच दिनअघि (आइतबार) चार साना छोरा–छोरी, श्रीमती र आमासहित मलाई विराटनगर १९ को बैजनाथपुर क्वारेन्टाइनमा राखियो । क्यान्सरको बिरामी भएका कारण मैले साह्रो चिज खान मिल्दैन ।

घाँटीको अप्रेशन भएकोले डाक्टरले दूध र झोल मात्र खान भनेको छ । तर क्वारेन्टाइनमा आएदेखि मैले माग्दा दूध पाएको छैन । ६ महिनादेखि ७ वर्षसम्मका मेरा साना छोरा–छोरीलाई पनि दूध चाहिन्छ । दिनमा ३–४ पटक खाना खाने केटाकेटी दिनभरि भोकै बस्छन् ।

साह्रो चीज खान नमिल्ने भएकाले म पनि भोकै बस्नुपर्छ । मैले औषधि खानुपर्छ । तर डाइट (सन्तुलित आहार) नपाएका कारण औषधि खान पाएको छैन । खाली पेटमा औषधि खायो भने साइट इफेक्ट गर्छ ।

क्यान्सरको बिरामी हुँ दूध दिनू न भन्दा गाली गर्छन् । जे ल्याएको छ, त्यही खानु भन्छन् । तर म मैले खानै हुँदैन । यस्तै भए क्वारेन्टाइनमै मर्छु होला । भारतमा हुँदा जसोतसो बाँचेर आए । आफ्नै ठाउँमा भोकै राख्छन् । दूध माग्दा हप्काउँछन् । मैले तीन दिनमा एक पटक फलोअप गर्नुपर्छ, कोशी अस्पताल जान दिँदैनन् ।

नियमित औषधि खानुपर्छ । तर डाइट नभएर खाएको छैन । मलाई पीडा भइरहेको छ । रोगले थिचिरहेको छ । छोरा–छोरी सानै छन् । उनीहरूलाई पनि दूध चाहिन्छ । तर मलाई एक गिलास मात्र दूध दिन्छन । घर जान्छु भन्दा दिँदैनन् ।

मभन्दा पछाडि आएकाहरू घर गइसके । परीक्षण पनि गरे । तर क्यान्सरको बिरामी हुँ भन्दा पनि कसैले वास्ता गर्दैनन् । हिजो होम क्वारेन्टाइनमा बस्न पनि दिएनन् । सरकार ! मेरा छोरा-छोरी सानै छन् । दूध दिन सक्दैनौ भने घर जान देऊ । होम क्वारेन्टाइनमा बस्छु ।

(बैजनाथपुर क्वारेन्टाइनमा बसेका गुप्तासँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित)

चाडैं घर पठाउँछौं– महानगर

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले क्यान्सर बिरामीको छिटो कोरोना परीक्षण गरी घर पठाइने बताए । शुक्रबार नै पीसीआर जाँचका लागि नमुना संकलन गर्ने बताउँदै उनले नेगेटिभ रिपाेर्ट आए शनिबार घर पठाउने बताए ।

माग्छन् तीन लिटर दुध, नगरले दिन्छ चार गिलास

क्वारेन्टाइनमा बसेका गुप्तालाई दिनमा तीन लिटर गाईको दुध आवश्यक पर्छ । तर गाईको दुध उनले पाउदैनन् ।

महानगरपालिकाले दिनमा चार गिलास दुध र विष्कुट दिदै आएको क्वारेन्टाइन सुरक्षामा खटिएका नगर प्रहरी हवल्दार रमेश निरौलाले जानकारी दिए । अरुलाई खाना खाजा दिदा गुप्तालाई दुध र विष्कुट दिने गरेको उनले बताए ।

Loading...