एकल पुरुषलाई पनि भत्ताको माग

‘खेताला पनि बोलाउँदैनन् एकल पुरुषलाई’

रंगेली, १२ असार । प्रदेश एक सरकारका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रताप प्रकाश हांगामले एकल पुरुषलाई पनि भत्ता दिनुपर्ने माग गरेका छन् ।

शुक्रबार प्रदेशसभाको बैठकको शून्य समयमा बोल्दै उनले एकल महिलालाई मात्र नभएर एकल पुरुषलाई पनि भत्ताको व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

समृद्ध नेपाल सुखी नेपाली बनाउन लागेको प्रदेश सरकारले श्रीमान नभएका महिलालाई भत्ता दिने तर श्रीमती नभएका पुरुषलाई भत्ताको व्यवस्था नगरेको उनले बताए ।

गाउँमा खेताला नआउने डरले एकल पुरुषलाई काममा पनि नबोलाउने गरेको उनको भनाइ थियो ।

‘ऋण माग्दा पनि यो भाग्छ भनेर कसैले दिँदैन,’ उनले भने, ‘विवाह गर्न पनि कसैले पत्याउँदैन । अरु डराउँछन् भनेर खेतालामा पनि एकल पुरुषलाई बोलाइँदैन । यसैले प्रदेश सरकारले एकल पुरुषलाई पनि भत्ता दिनुपर्छ ।’

Loading...