ग्रामिण अर्थतन्त्रमा सुधारका लागि भइरहेका केही आश लाग्दा प्रयासहरू

डा. राजेन्द्र उप्रेती

बितेको हप्ता पाँचथर ताप्लेजुङ र इलाम जिल्लाहरूमा भइरहेका कृषि गतिविधिहरू र त्यहाँस्थित कार्यालयहरूको अनुगमनमा गर्ने मौका जुर्‍यो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवसहितको टोलीले ती जिल्लाहरूका कार्यक्रम कार्यान्वयनको अवस्था र भैरहेका गतिविधिहरू नजिकबाट नियाल्ने प्रयास गर्‍यो ।

कोभिड–१९ बाट श्रृजित संकटापन्न अवस्थाका बाबजुद पनि जिल्लास्थित कार्यालयहरूले आफ्ना कार्यक्रमहरू सञ्चालन गरिरहेका र किसानहरूलाई पुर्‍याउन सकिने सहयोगहरू गरिरहेका पाइयो ।

जिल्लाका नियमित कामसँगै मन्त्रालयबाट यो आर्थिक वर्षमा कार्यान्वयन गरिएका केही कामहरूले हाम्रो प्रदेशको ग्रामिण अर्थतन्त्रमा सकारात्मक परिवर्तनहरू ल्याउन सक्ने आशा जगाएका छन् । यस्तै केही उदाहरणलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

पाँचथरमा कृषकहरूको साथि हातेमालो कृषि सहकारी

पाँचथरस्थित हातेमालो कृषि सहकारी संस्थाले जिल्लाका विभिन्न क्षेत्रमा रहेका कृषि तथा पशुपालक किसानहरूलाई घासपराल टुर्क्याउने १२१ च्याफकटर मेसिन¸ ग्रामिणस्तरमै धान मकै कोदो कुटानी पिसानीका लागि ४८ वटा साना मिलहरू¸ १५ वटा मकै छोडाउने मेसिन र खनजोतको लागि वितरण गरिएका ४ वटा मिनिटिलरहरूले पक्कै पाँचथर जिल्लाको ग्रामिण जनजीवन र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको २५ लाखको सहयोग र हातेमालो कृषि सहकारी संस्थाका सदस्यहरूको ८ लाख ५० हजारको सहभागितामा भएको यो कामको सिको सामाजिक रुपान्तरणको लागि अरु धेरै संघ संस्थाहरूले गर्न सक्छन् ।

पाँचथरको हातेमालो कृषि सहकारीसँग गरिएको यो सानो सहकार्यले सयौँ किसानका कामहरूलाई सहज बनाउनेछ र कुटानीपिसानीको अभावमा अल्मलिएको ग्रामिण कृषिलाई चलायमान बनाउनेछ¸ गाँउमा भैरहेको उत्पादनको गाँउमै प्रशोधन हुन थालेपछि त्यसले स्थानीय उत्पादनको बजारीकरणमा सघाउनेछ र गाँउको पैसा गाँउमै राख्नमा मद्धत पुर्‍याउनेछ । यसको प्रतिफल हेरेर हामीले यस्ता अभियानहरू अन्य धेरै दुरदराजका गाँउहरूमा पुर्‍याउन सक्नेछौँ ।

कृषि पर्यटनमा उदाउँदै गरेको ताप्लेजुङको क्रियटिभ ब्रदर्श

ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थल नजिकै हाँङदेवामा रहेको शेर्पाबस्तीमा क्रियटिभ ब्रदर्श प्रालिद्वाारा स्थापित र विस्तार भइरहेको कृषि पर्यटनस्थलले भोलिको दिनमा त्यो बस्तिलाई एउटा नमूना पर्यटनस्थलको रूपमा विकास गरेर लैजाने छ ।

शेर्पा संस्कृति¸ खानपिन¸ स्थानीय जडिबुटिहरूको संरक्षण र प्रवर्द्धन जस्ता कुराहरू यो अभियानमा जोडिएका छन् जसले हाम्रो विविधता र विशिष्ठतालाई बुझाउन मद्धत गर्नेछ ।

क्रियटिभ ब्रदर्शले बनाइरहेको कृषि पर्यटन स्थल र तरकारी खेतीको लागि तयार भरहेका तरकारीका बेर्नाहरू

स्थानीय उपलब्ध श्रोत–साधानहरूको अधिकतम प्रयोग गरेर बनाइएका पर्यटक लोभ्याउने घरहरू¸ मनमोहक बाहिरी वातावरण¸ जडिबुटि मिश्रीत प्रांगारिक कृषि उत्पादनहरूको स्वाद र लोभलाग्दो शेर्पा सत्कारहरू यो पर्यटन स्थलका आर्कषणहरू हुन जसलाई जाँगरिला शेर्पा युवाहरूले निखारिरहेका छन् ।

विमानस्थल नजिकै र विदेशी पर्यटकहरूको पदमार्गमा रहेको यो कृषि पर्यटनस्थल धेरैको आकर्षणको केन्द्र बन्नेछ र समस्त शेर्पा गाँउको कृषिलाई अगाडि बढाउन यो मद्धतगार हुनेछ ।

बालनगाँउको कृषि पर्यटन

इलाम त्यसै सुन्दर छ¸ हरियाली छ¸ तर पनि इलाम बजार छेउछाउमै रहेका बस्तिहरूमा रोजगारी र आर्थिक उपार्जनको साधनहरू सीमित भइरहेका बेला त्यसलाई बढाउने उद्देश्यका साथ कृषि पर्यटनलाई जोडेर एउटा सार्थक प्रयास भैरहेको छ बालन गाँउमा ।

बालनगाँउका बासिन्दाहरूलाई संगठित गर्दै कृषि पर्यटनको लागि एउटा नमूना गाँउ निर्माणको कार्य भइरहेको छ । लिम्बू र नेवार समुदायका २० वटा घरहरूलाई समेटेर ती घरहरूमा प्रांगारिक कृषि¸ मौरीपालन र फूलखेतीलाई जोडिएको छ ।

कृषि उत्पादनलाई विविधीकरण गर्दै संलग्न घरधुरीहरूको आम्दानीको श्रोत बढाउने र गाँउमा आउने पर्यटकहरूलाई गाँउकै उत्पादन खान दिने र उनीहरूमार्फत ती कृषि उत्पादनहरूको बजारीकरण गर्दै अगाडि बढने सोच गाउँबासीले बनाएका छन् । यो अभियानलाई भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय¸ उद्योग वाणिज्य संघ इलाम तथा स्थानीय तहले सघाएको छ ।

बालनगाँउ इलाममा तयार गरिरहेका होमस्टेका २० वटा घरहरू¸ मौरीपालन र फूलखेतीका लागि बनाइएका घरहरू

हामी सम्भावनानै सम्भावनाका थुप्रोमा बसेका मानिसहरू हौं । शहर नजिकै मात्र होइन शहरबाट टाडा पनि जताततै सम्भावनाहरू छन् । तिनीहरूलाई पहिचान गर्दै दीगो सोच र सामूहिक सक्रियताका साथ लाग्न सकियो भने हामीले रुपान्तरणका धेरै यात्राहरू पार गर्न सक्छौं र दीगो तथा समृद्ध समाजको निर्माणमा योगदान गर्न सक्छौं ।

हामीले उत्पादन, संकलन तथा पहिचानसहितको बजारीकरण अभियानहरू एकीकृत रूपमा चलाउनु पर्छ । त्यो बेला हाम्रा निजी क्षणिक स्वार्थहरूलाई थाति राखेर अगाडि बढ्न सक्नुपर्छ । बल्ल हामीले हाम्रो उत्पादन¸ राम्रो गुणस्तरको पहिचानसहित बिश्वासिलो बजार र न्यायोचित बजार भाउ पाउन सक्छौं ।

कोभिड–१९ ले हामीलाई देश र गाँउ फर्किने र हाम्रो आफ्नै देशको श्रोतमा आधारित दीगो अर्थतन्त्र निर्माण गर्ने जुन अवसर दिएको छ त्यसको सदुपयोग गरौं । अर्काको नक्कल होइन आफ्ना वरिपरिका सम्भावनाहरुलाई जागृत गरौँ ।

Loading...