साउनभित्र एसईईको नतिजा आउने, अन्तिम परीक्षालाई धेरै अंक

काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनभित्रै आउने भएको छ । एसईईका विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पर्ने भएका हुन् ।

कक्षा १० का विद्यार्थीको मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्यांकन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताए ।

कोरोना भाइरसको संक्रमण भयावह भएको अवस्थामा बाहेक साउनभित्रै सबै काम सक्ने योजना बनाइएको छ ।

नतिजा प्रकाशनपछि चार लाख ८३ हजार विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा नियन्त्रकको हस्ताक्षर तथा छाप लगाउने कार्यका लागि केही दिन लाग्ने अनुमान गरिएको छ ।

विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अंक जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । अन्तिम परीक्षालाई सबैभन्दा धेरै अंक दिने सरकारले नीति बनाएको छ ।

विद्यालयले विद्यार्थीको अन्तिम मूल्यांकन गरेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने जिम्मेवारी दिइएको छ ।

समन्वय एकाइलाई जिल्लाका सबै विद्यालयको अभिलेख संकलन गरी असार ३० भित्र सबै सामग्री बोर्डमा पठाउने समय दिइएको छ । यसपटक नतिजा प्रकाशनपश्चात् पुनःप्रयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने तथा पूरक ग्रेड वृद्धि परीक्षा भने नहुने कार्यविधि तय गरेको जानकारी अधिकारीहरूले दिएका छन् ।

यसअघि सरकारले २०७६ सालको एसईई परीक्षा पुरानो परिपाटीबाट नलिने निर्णय गर्दै विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय गरेको थियो तर कार्यविधि निर्माण नहुँदा यसको प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

Loading...