birat ribon

आठ महिनादेखि गोल्डेन अस्पतालमा बास, पैसा नहुँदा अस्पतालले जान दिएन

Neuro
आठ महिनादेखि गोल्डेन अस्पतालमा बास, पैसा नहुँदा अस्पतालले जान दिएन

बबिता लिम्बू
विराटनगर, ११ असार । विगत आठ महिनायता विराटनगरको गोल्डेन अस्पतालको शैय्यामा अचेत अवस्थामा छन सुनसरी तरहराका गणेश राई । उपचारमा लागेको खर्च तिर्न नसक्दा राईकी श्रीमती र छोरा गोल्डेन अस्पतालबाट बाहिर जान पाएका छैनन् ।

Padelux insider
cura insider

गत वर्षको कात्तिक १२ गते भाइटीका थियो । सुनसरी–तरहराबाट टीका लगाउन गणेश राई लेटाङतर्फ लागे । श्रीमती र छोरा भाइटीका मनाउन घरमै बसे । टेम्पोमा गएका उनी टेम्पोमा नै फर्कँदै थिए । टेम्पो चालक, उनकी श्रीमती र गणेश लेटाङबाट तरहरा फिर्ने क्रममा बाटोमा दुर्घटना परे ।

दुर्घटनामा तीन जना मध्ये गणेश मात्र गम्भीर घाइते भए, टेम्पो चालक जसोधन राई र उसकी श्रीमतीलाई हातमा चोट लाग्यो ।

दुर्घटनालगत्तै तीनै जनालाई गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । टेम्पो चालक जसोधन राई र उसकी श्रीमतीको केही दिनमै डिस्चार्ज भए । गणेश भने अझै अचेत अवस्थामा नै छन् ।

गणेश राई सुनसरीको तरहराका बासिन्दा हुन् । उनको परिवारमा श्रीमती विष्णु तामाङ राई र एक छोरा सन्तोष राई छन् । गणेश वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेर फर्किएका हुन् ।

तीन वर्षयता राई परिवारले चिया पसल खोलेर आफ्नो जिविका चलाइरहेको थियो । २१ वर्षीय छोरा सन्तोष १२ कक्षाको पढाइ पूरा भएपछि लाहुरेको लागि गरेको प्रयास विफल भएपछि काठमाडौंमा कोरियन भाषा पढ्दै थिए । परिवार चलिरहेको थियो । तर भाइटीकाे दिन घटेको घटनाले आमा छोरा माथि बज्रपात परेकाे छ । अस्पतालमा अचेत अवस्थाका गणेशकाे कुरुवा बसेका छन । न राम्राे उपचार छ । नत बाहिर लैजानसक्ने क्षमता नै ।

‘कहाँ जाने, कसलाई भन्ने, मैले मेरो बुद्धिले भ्याएजति सबै गरिसकेँ,’ गणेशकी श्रीमती विष्णु भन्छिन्, ‘पैसा भइन्जेल मात्र रहेछ न्याय पाउने आशा पनि ।’

विष्णु तामाङ राई

छोरा सन्तोष आफ्नो भविष्यबारे मात्र सोचिरहेको बेला यस्तो आपत आइपर्छ भनेर सोचेका पनि थिएनन् । उनी भन्छन्, ‘कानूनबारे केही थाहा नभएको कारण यति धेरै दुःख भएको होला ।’

न्याय दिलाउँछु भन्ने मान्छेहरू अहिले सम्पर्कविहीन भएको विष्णु बताउँछिन् । टेम्पो चालक जसोधन राई धरौटीमा छुट्दा साढे ६ लाख तिरेर छुटेका थिए ।

त्यही पैसा विष्णु राईलाई दिने कुरा थियो । अस्पतालमा भएको खर्चको बिल जिल्ला प्रशासन कार्यालय पुग्यो तर पैसा आएन । ‘धेरै पटक गुहार्‍यौं तर सुनेर पनि नसुनेझैं गर्‍यो । अहिले त जानै छोड्यौ,’ छोरा सन्तोषले भने ।

आफन्तले हेरेनन्

आठ महिनायता गोल्डेन अस्पतालको शैय्यामा जीवन र मृत्युसँग लडिरहेका गणेशलाई आजसम्म उनको परिवार भेट्न आएका छैनन् ।

पटकपटक बुहारी विष्णुले न्यायको लागि सम्बन्धित निकायमा कुरा गरौं भनेर हार–गुहार गर्दा कसैले वास्ता गरेनन् । न त परिवारको नै साथ छ न त आफूले जानेकाले हेरेका छन । गणेशकी श्रीमती र छोरा सन्तोष सहाराविहीन अवस्थामा छन् ।

एक पटक वडा अध्यक्ष आएका थिए गणेशलाई हेर्न । अध्यक्षसँग पनि सहयोगको लागि अपिल गरे तर सान्त्वनाबाहेक उनीहरूले केही पाएनन् ।

भएको जति जग्गा सबै धितोमा छ । खर्चले आकाश छोइसक्यो, आठ महिनादेखिको उपचारमा केही सुधार आएको छैन । ‘अरु त पराइ नै भइहाले तर हामीलाई त आफ्नैले हेरेनन्,’ विष्णुले भनिन् ।

घटना घटेको आठ महिना पुगिसक्दा पनि कही कतैबाट साहारा नमिलेको कारण उनीहरू सहयोगका लागि छट्पटाइरहेका छन् ।

छोरा सन्तोषले पढेको स्कुलका साथीहरूबाट थाेरै भएपनि सहयोग पाएका छन ।

अस्पताल नजिकै रहेकाे किराँती होटलमा आधा पैसा तिरेर खान थालेको छोरा सन्तोषले बताए । उनीहरूको दयनीय अवस्था देखेर होटल सञ्चालिका मुना राईले खानामा सहयाेग गर्दै आएकी थिइन् ।

‘दुर्घटना घटाउने मुख्य व्यक्ति खुल्लमखुल्ला डुलिरहेका छन् । पीडित हामीले दिनरात रोएर बिताउनु परेको छ,’ श्रीमती विष्णु भन्छिन्, ‘दोषीले सजाय पनि पाउनुपर्छ र उपचारमा लागेको खर्च पनि सबै व्यहोर्नु पर्छ ।’

विराटनगर–२ स्थित गोल्डेन अस्पतालमा विगत ८ महिनादेखि उपचार खर्च तिर्न नसक्दा अस्पतालमा नै बस्न बाध्य बिरामी गणेश राईको परिवारले सहयोग पाएका छन् । नारी– द पावर नाम गरेको सामाजिक सञ्जालको एक समूहले ३० हजार नगत सहयोग गरेको छ । यो समूहमा सबै विवाहित महिलाहरू मात्र छन् ।

अझै ८ लाख तिर्न बाकीँ

गणेशको परिवारले उपचारका लागि अस्पतालमा मात्र १२ लाख भन्दा बढी खर्च भएको छ । औषधि र अन्य सामाग्रीको खर्च छुट्टै छ । अब अस्पतालमा मात्र लागेको ८ लाख तिर्न बाकीँ छ ।

गोल्डेन अस्पतालका सुपरभाईजर सन्तोष मेहता अस्पतालले सकेको सहयोग गर्ने बताउछन । ‘बिरामीको परिवारलाई बन्धक बनाएर राखेको हैन ।’ उनी भन्छन् ‘मानवताको नाताले अस्पतालले आर्थिक र नैतिक रुपमा गर्नु पर्ने सबै सहयोग गर्छ ।’

jackson ribon