काठमाडौंको बजेट १६ अर्ब, बहाल करमा १० प्रतिशत छुट

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७– ७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट सार्बजनिक गरेको छ ।

बुधबार नगरसभाको सातौ अधिवेशनमा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बजेट प्रस्तुत गरेकी हुन ।

आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरिएको छ ।

पूर्वाधार बिकास क्षेत्रका लागि कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार बजेट बिनियोजन गरिएको छ ।

सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख , सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३०, शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरेको छ ।

महानगरले कोभिड–१९ को असर ,रोकथाम र न्युनिकरणलाई प्राथमिकता राख्दै गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ ।

होटल तथा पर्यटन क्षेत्रको सम्पति करमा छुट

महानगरपालिकाले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएकाअसरलाई मध्यनजर गरी होल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६÷७७ सम्मको घरजग्गा कर÷सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७÷७८ को सम्पत्ति करमा थप पचहत्तर प्रतिशत छुट दिने भएको छ ।

बहाल करमा १० प्रतिशत छुट

कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६–७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गरेमा बार्षिक बहाल करमा दश प्रतिशत छुट दिने भएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतको बहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७–७८ मा बुझाउनुपर्ने बार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिने भएको छ ।

५० प्रतिशत व्यवसाय कर छुट पाउने होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा सबै तारेहोटलहरु, चलचित्र प्रर्दर्शनी घर,साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे,होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेल लगायत छन् । तर महानगरले जडिबुटी, कवाडी र जीवित पशुमा थप कर लगाउने तयारी गरेको छ ।

Loading...