तराईमा फस्टाउँदै निजी वन : लगानी र मेहनत थोरै, फाइदा धेरै

विराटनगर, १० असार । मोरङ ग्रामथान गाउँपालिका–२ झोराहाटका कृषक दीपककुमार माझीले आफ्नो एक विगाह जग्गामा निजी वन लगाएका छन् ।

धानखेती गर्दा झन्झट व्योहोरेका उनले लगाएका रुख हुर्किसकेका छन् । ‘खेती गर्दा जन (कामदार) पाइँदैन्, सिचाई गर्न पनि गाह्रो छ,’ उनले भने, ‘वन लगाउँदा जन र सिचाइँको झन्झट परेन्, ढिलो भएपनि आम्दानी धानखेतीको भन्दा राम्रो हुन्छ ।’

ग्रामथान २ पीडारमणीका दशनलाल माझीले पनि आफ्नो करिब ५ कट्ठा जग्गामा कृषि बन लगाएका छन् । उनले हुर्कँदै गरेको वनभित्र घुसुवा बालीको रूपमा बेसार लगाएका छन् । वनले ढिलो आम्दानी दिने भएकाले बेसार पनि लगाएको उनले बताए ।

दीपक र दशनलाल मात्र होइन पछिल्लो समय मोरङमा निजी बन लगाउने कृषकको आर्कषण बढ्दै गएको छ । थोरै लगानीमा राम्रो प्रतिफल आउने भएपछि निजी वनतर्फ कृषकको आर्कषण बढ्न थालेको हो ।

निजी वन लगाउँदा नगदेबालीलाई जसरी मेहनत गर्न नपर्ने र वनबाट आम्दानी पनि राम्रो हुने भएका कारण कृषकहरूको आर्कषण बढ्दै गएको जिल्ला वन कार्यालय मोरङका वन अधिकृत परमेश्वर पासवान बताउँछन् ।

‘अन्य बालीभन्दा वन बालीबाट आम्दानी धेरै राम्रो छ,’ उनले भने, ‘एक विगाह जग्गामा अन्य बालीले वार्षिक एक लाखका दरले दश वर्षमा १० लाख आम्दानी दिन्छ होला । तर सोही जग्गामा वन बाली लगाए एक करोडसम्म आम्दानी दिन्छ ।’

उनका अनुसार वन बाली लगाउँदा प्रजाती र स्थानअनुसार ८ देखि १६ वर्षसम्म उत्पादन दिन्छ । ‘वनमा धेरै मेहनत पनि गर्न पर्दैन्,’ उनले भने, ‘रुख बेच्नेबेला व्यापारी घर मै आइपुग्छन् ।’

तराई मधेश हरियाली विकास कार्यक्रम

तराई क्षेत्रमा वन विस्तारका लागि सरकारले वन दशक अभियानअन्तर्गत तराई मधेश हरियाली विकास कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सो अभियानअन्तर्गत सरकारले वन लगाउन चाहने कृषकलाई विरुवा र प्राविधिक सल्लाह निःशुल्क दिन्छ ।

जिल्ला वन कार्यालय मोरङका तराई मधेश हरियाली विकास कार्यक्रम संयोजकसमेत रहेका पासवानका अनुसार मोरङमा ६१८ वटा निजी वन दर्ता भएका छन् । ७६०.६४ हेक्टर क्षेत्रमा ८ लाख ९३ हजार १ सय ३३ विरुवा रोपेका छन् ।

पासवानका अनुसार गतवर्ष मोरङ जिल्लाको तराई क्षेत्रबाट मात्र २ लाख ७७ हजार १ सय ७७ क्वीफिट काठ कटान भएको थियो । जिल्लाका धेरै आवश्यकता निजी वनले धानेको पासवानले बताए ।

१० ठाउँमा नर्सरी, फलफूलका बिरुवा पनि वितरण

वन लगाउन चाहने कृषकलाई वन कार्यालयले विभिन्न दश स्थानबाट निःशुल्क बिरुवा वितरणका लागि नर्सरी स्थापना गरेको छ । ग्रामथान गाउँपालिका ३ काे लखन्तरी, ग्रामथान १ काे नेताचाैक, धनपालथान गाउँपालिका, पथरीशनिश्चरे, रंगेली, राजघाट, आमताेला, बुद्धनगर र मिलन चाैंकका १० वटा निजी नर्सरीकाे सहकार्यमा विरूवा उत्पादन गरि कृषकलाइ वितरण गरिरहकाे छ ।

कृषकलाई निःशुल्क वितरण गर्न चालू आर्थिक वर्षका लागि ९ लाख ३० हजार विरुवा उत्पादन गरेको कार्यालयले जनाएकाे छ । गत वर्ष ८ लाख ६० हजार र आर्थिक वर्ष २०७४–७५ मा २ लाख ५० हजार बिरुवा वितरण गरेको थियो ।

कसरी लगाउने वन ?

व्यावसायिक रूपमा वन लगाउनका लागि पूर्व–पश्चिम लाइन बनाएर रोप्नुपर्ने प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता अनिरुद्रकुमार साह बताउँछन् । अन्य क्षेत्रको तुलनामा प्रदेश १ मा वन खेतीमा कृषकको आर्कषण बढेको बताउँदै उनले वन कार्यालयको प्राविधिक शल्लाहमा खेती गर्नुपर्ने बताए ।

‘बाली लगाउँदा चौडाई १२ फिट र एक विरुवादेखि अर्काे विरुवाको दुरी ८ फिटको हुनुपर्छ,’ उनी भन्छन्, ‘यसरी लगाउँदा घुसुवा बालीको रूपमा अन्य कृषि बाली लगाउन सकिन्छ ।’

पूर्व–पश्चिको चौडाई १२ फिटको भए अन्य बाली लगाउनका लागि ट्याक्टर लगाएर जोत्न सकिने उनले बताए । विरुवा रोपेको केही वर्षसम्म घुसुवा बालीको रूपमा अन्य खेती गर्दा कृषकले अतिरिक्त आम्दानी गर्न सक्ने उनले बताए ।

Loading...