सामाजिक विकास मन्त्रालयको बजेटमा सत्ता पक्षका सांसदको विरोध

रंगेली १० असार । प्रदेश १ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकमाथिको छलफलमा आफूअनुकूल शीर्षक बनाएर बजेट राखिएको भन्दै नेकपाकै सांसदहरूले मन्त्रालयको आलोचना गरेका छन् ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकमा राखिएको बजेट नीति तथा सिद्धान्त ख्याल नगरी आएको उनीहरूले रोष व्यक्त गरेका हुन् । नेकपाका सांसद उपेन्द्रप्रसाद घिमिरे सामाजिक विकास मन्त्रालयको ५ अर्ब ३० करोडको बजेट ढोके–चम्चेहरूले बनाए जस्तो भएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले बजेट कर्मचारी र ढोके हुक्के चम्चेहरूले मात्र बनाए कि मन्त्रीले पनि हेर्नुभयो भन्ने कुरा मानसपटलमा खेलिरहेको उनले बताए । उनले सामाजिक विकास मन्त्रालयको एक सय पानाको कार्यक्रम समेटिएको तर तालिम गोष्ठी र सेमिनारले बढी स्थाना पाएको बजेट भएको बताए ।

विकट पहाडी जिल्लादेखि तल तराईसम्मका समस्यामा छन् । उनले बजेटमा सुरक्षित मातृत्वका लागि के गरियो ? भन्दै प्रश्न गरे । उनले स्थानीय तहमा प्रदेशको काम छैन भन्दै गर्दा बजेटको कारणले अपमानित हुनुपर्ने अवस्था आएको उनले बताए ।

उनले सामान खरिद गर्न कर्मचारीलाई तालिम दिनुपर्ने भन्दै अच्चममा परेको बताए । उक्त तालिमका लागि रु १५ लाख, मोटरसाइकल मर्मत शीर्षकमा रु. ५७ लाख के कति मापदण्डअनुसार राखियो उनले जवाफ माग गरेका छन् । स्वास्थ्यकर्मीको लागि जोखिम भत्ता तहअनुसार नतोकिएको बताए ।

उनले कार्यक्रम पनि मन्त्रीकै निर्वाचन क्षेत्रमा बढी समेटिएको भन्दै आलोचना गरेका थिए । उनले चुनाव जित्नको लागि बजेट राखिए जस्तो भएको बताए । उनले मोरङको माथिल्लो भेगलाई विभेद भएको जिकिर गरे ।

उनले अहिले कोभिडको महामारीको अवस्थामा तालिम गोष्टि आयोजना गर्न कत्तिको सम्भावना छ भन्दै सरकारसँग प्रश्न गरेका थिए । नेकपाकै सांसद खिनुलङ्वा लिम्बूले रातो किताबमा धेरै त्रुटि देखिएको प्रदेशसभामा बताएकी थिइन् ।

उनले उद्देश्य एकातिर काम अर्कोतिर भएको बताइन् । एउटा मन्त्रालयलाई खानेपानीको लागि १० लाख बजेट व्यवस्था गरेको उनले बताइन् । प्रदेशको मन्त्रालय भए पनि संघीय जिल्लालाई बजेट छुट्याएको समेत रातो किताब देखिएको उनले बताइन् ।

उनले स्वास्थ्य सामग्री वितरण ७७ जिल्लामार्फत् गर्ने भनेर रु. ५० लाख छुट्याइएकाले यो मन्त्रालय प्रदेशको नभएर संघको मन्त्रालय जस्तो देखिएको बताइन् । गत वर्षदेखि चलेको एक गाउँ एक खेल मैदान समावेश नभएको उनले बताइन् । विज्ञान ल्याब, आइटी ल्याब आदि नीति तथा कार्यक्रममा भएको कुरा बजेटमा छुटेको उनको भनाइ थियो । उनले पहाडी क्षेत्र अन्यायमा परेको बताइन ।

नेकपाका सांसद उत्तमकुमार बस्नेतले स्वास्थ्य र शिक्षाका विषयमा सुधार हुन नसकेको टिप्पणी गरे । उनले शिशु स्याहार केन्द्र बनाउन भने पनि वास्ता नगरेको बताए । जेष्ठ नागरिक केन्द्रलाई विराटनगरमा ३० लाख छुट्याइरदा सोलुखुम्बुललाई नभएको उनले बताए । उनले पहाडतिर कार्यक्रमहरू दिँदा भेदभाव भएको बताए ।

नेकपाका सांसद तुलसीप्रसाद न्यौपाने बजेट अनुदानै अनुदानको पुलिन्दा जस्तो भएको बताए । उनले रातो किता जति बुझ्यो झन कठीन हुने बताए । उनले कार्यक्रमहरू प्राथमिकताअनुसार नभएको जिकिर गरे । सहायता अनुदान बाढन हुकुम प्रमागंी जस्तो भएको बताए ।

नेकपाका सांसद बलबहादुर साम्सुहाङ झुटै झुटको पाना राखिएको भन्दै सुधारको लागि सुझाए । गरिबी र असमानता तथा बेरोजगारीलाई विकासले हटाउनु पर्ने भएकोले बजेटले त्यतातिर ध्यान दिनुपर्ने बताए ।

सांसद कृष्णकुमारी राईले धनकुटामा स्वास्थ्यको क्षेत्रमा अपेक्षित बजेट आउन नसकेको बताइन् । नेकापका सांसद राजकुमार ओझा, राजेन्द्रकुमार राई, लछुमन तिवारी, लीला सुब्बा र संजाकुमारी दनुवारले आफ्नो धारणअ राखेका थिए ।

Loading...