धरान, असार १० । सुनसरीको धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट लागूऔषध तथा जंगली जनावरको अंगसहित तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा शहीदभूमि गाँउपालिका–१ घर भई धरान–११ बस्ने २९ वर्षीय नन्दीमान राई, सोही ठाउँका १९ वर्षीय दिनेश भन्ने सविन राई र उदयपुरको कटारी नगरपालिका–२ ताप्ली घर भइ धरान–११ बस्ने २० वर्षीय सागर राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे बिष्णुपादुकाबाट धरानतर्फ जाँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा जंगली जनावरको सिङ र प्वाँख भेटिएको थियो ।
प्रहरीले टेम्पुको सिटमुनी सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २४५ ग्राम अवैध लागूऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ थान, जंगली जनावर घोरल मृगको सिंङ जस्तो देखिने स–साना सिंङ ४ थान र कस्तुरी मृगको सिंङ जस्तो देखिने छालासहितको सिंङ २ थान बरामद गरेको हो ।

पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा जंगली जनवारको सिंङ र पंक्षीको प्वाख आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।