प्रदेश १ को बजेटमा सत्ता पक्ष सांसद नै रुष्ट

रंगेली, १० असार । प्रदेश १ सरकारले ल्याएको बजेट अव्यवहारिक भएको सांसदहरूले बताएका छन् । बजेट पहुँचको आधारमा प्रभावित भएको सांसदहरूले बताएका हुन् ।

प्रदेशसभामा छलफलको लागि आएको आर्थिक विनियोजना विधयेकमाथि बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बजेट सत्ताबिउ जस्तो छरिएको बताए । उनले भने, ‘नीति तथा कार्यक्रम एकातिर बजेट अर्कोतिर बजेट बक्तव्य अर्कोतिर अनि सरकार कतातिर ?’

प्रदेश १ सरकारले ल्याएको बजेट सामाजिक न्याय प्रणालीअनुसार बजेट नभएको जिकिर गरे । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको कर्मचारी मुख्यमन्त्रीले आफूअनुकूल बजेट बनाउन सरुवा गरेको आरोप लागाए ।

बजेटले विपन्नलाई धनीसँग प्रतिस्पर्धा गर्न सक्ने बन्न नदिने बताए । उनले बजेट झुटैझुटको पाना मात्र भन्न मन लाग्ने बताए ।

छलफलमा नेकपाका सांसद झलक मगरले बजेट पहुँचको आधारमा प्रभावित भएको जिकिर गरे । उनले प्रदेश एकको सामाजिक विकास मन्त्रालयले खेलकुद क्षेत्रमा विनियोजन गरेको बजेट पर्याप्त नभएको बताए ।

मंगलबारबाट मन्त्रालयगत रूपमा प्रदेश विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो । प्रदेशसभामा विचार गरियो भनी आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विनियोजन विधयेक प्रस्तुत गरेका थिए ।

छलफलमा नेकपाका सांसद निरन राईले बजेटले जनताले खोजेको लोकतन्त्रको अनुभूति नगराएको बताए । उनले धनकुटाको मेडिकल कलेजको बजेट घटाएर सरकारले कलेज खारेज गराउन खोजेको गुनासो गरे । पहाडी क्षेत्रको खेलकुदको लागि विनियोजन गरेको रकम पर्याप्त नभएको बताए ।

Loading...