विराटनगर, १० असार । कोशी अस्पताल विराटनगरमा उपचाररत बिरामीको रेखदेख गर्न अस्पतालमा बसेकी एक युवतीमाथि अस्पतालको वार्डभित्रै बलात्कारको प्रयास भएको छ ।
कोशी अस्पतालस्थित महिला वार्डको बेड नं २०२ मा रहेकी बिरामीको रेखदेख गर्न अस्पातलमा बसेकी २१ वर्षीय युवतीमाथि बुधबार बिहान ३ बजे बलात्कारको प्रयास भएको हो ।
पीडित युवती सुतिरहेको अवस्थामा ती युवकले करणी प्रयास गरेका थिए ।
युवतीले आफू बिरामीको छेवैको बेड नं २५८ मा सुतिरहँदा आरोपितले आफ्नो ओठमा चुम्बन गरेको र जर्बजस्ती गर्ने प्रयास गरेको बताइन् ।
घटना सम्झँदै पीडित युवतीले कोशी अनलाइसँग भनिन्, ‘मैले त्यसपछि खेदाएँ, सबै ढोका बन्द भएकाले भर्याङ छैउबाट हाम फालेर भाग्यो । गार्ड दाइलाई भनेर ढोका खोलेर अर्को बिरामी कुरुवासँग तल जाँदा कतै पनि देखिएन ।’
घटनापछि पीडित युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएकी छन् ।
पीडित महिलाले उजुरी गरेपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए । ‘मान्छे पहिचान र घटना बुझ्ने काम हुँदैछ ।’ डिएसपी राईले भने ।