सिड्नीमा ८५ वर्षीया वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ

विराटनगर, ९ असार । अष्ट्रेलियाको सिड्नीमा ८५ वर्षीया वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।

पश्चिमी सिड्नीबाट प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका २ जना नै विराटनगरका हुन ।

ईन्टरनेट र फोनमार्फत् ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोहलाई सघाएको भन्‍दै न्यूसाउथवेल्स प्रहरीले दुईमाथी आठ अभियोग लगाएको छ ।

१९ जुनका दिन ८५ वर्षीय वृद्धाले आफूलाई ठगी गरिएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो । समाचारमा जनाइएअनुसार ठगीमा परेकी वृद्धालाई नयाँ खाता खोल्नुपर्ने भन्दै बैंकबाट कल आएको बताइएको छ ।

फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए । उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो ।

पेसा पठाए लगत्तै सोही व्यक्तिले फोनमार्फत् थप ५ हजार डलर तयार गर्न भनेका थिए । यो रकम लिनका लागि २२ जुनमा कुरियरका रूपमा यी दुई नेपाली पुगेको प्रहरीको भनाई छ ।

प्रहरीले २२ जुनका दिन वृद्धाको टेलोपियास्थित घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीहरू कुरियर काम मात्रै गर्ने हुन् वा सम्पूर्ण ठगीमैं संलग्‍न व्यक्तिहरू हुन् भन्‍ने विषयमा अनुसन्धान भइरहेको छ । दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । अदालतले उनिहरूलाई जमानतमा पनि छाडेको छैन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।

Loading...