birat ribon

लकडाउनमा बढ्यो ठगी धन्दा

Neuro
लकडाउनमा बढ्यो ठगी धन्दा

यज्ञ अधिकारी

Padelux insider
cura insider

विराटनगर, ९ असार । कोरोना महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको समयमा व्यवसायीहरूले ठगी धन्दा बढाएका छन् ।

सबै निकायको ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएको मौका छोपेर उद्योगी तथा व्यापारी ठगी र कालो बजारीमा सक्रिय भएका हुन् ।

लकडाउनको समय ११ चैत्रदेखि जेठ मसान्तसम्म ठगी र कालोबाजारी गर्ने १७ वटा व्यवसायिक तथा औद्योगिक फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरिवाना गरेको छ । सो अवधिमा ४९ वटा कार्यालयलाई नसिहत दिएको कार्यालयले जनाएको छ ।

अनुचित लाभका लागि व्यापार तथा उद्योग सञ्चालन गर्नेलाई उपभोत्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ अनुसार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बताए ।

उपभोक्त हितविपरीत कार्य गर्ने फर्महरूलाई ३ लाखसम्म जरिवाना गरिएको उनले बताए ।

गोर्खा डिपार्टमेन्ट स्टोर र हुलास इन्ड्रष्टिज जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको दस महिनामा १ सय ४८ कार्यालयको अनुगमन गरेको छ ।

कार्यालयलले चालु आर्थिक वर्षको साउनदेखि जेठ अन्तिमसम्ममा जम्मा २० वटा उद्योगलाई जरिवाना गराएको छ । जरिवानाबापत १२ लाख ५५ हजार संकलन भएको प्रमुख बरालले जानकारी दिए ।

कार्यालयले बजारमा अभाव भएका वस्तु लुकाउन, म्याद गुज्रिएका सामग्री बेच्ने, सस्तो मदिरा महँगोमा हालेर बेच्ने, मूल्य सूचि नराख्ने, खरिद बिल नभएका, अन्डर विलिङ गर्ने, खुद्रा मूल्य धेरै राख्ने उद्योगलगायतलाई कारवाही गरिएको उनले बताए ।

कार्यालयले मास्कको कालोबाजारी गर्ने श्री सर्जिकल इम्पेक्सलाई कार्यालयले ३ लाख जरिवाना गरेको छ । ९ चैतमा अनुगमनमा मास्क लुकाएको पाइएपछि जरिवाना गरिएको थियो ।

सुन्दरहरैंचाको गोर्खा डिपार्टमेन्ट स्टोरले विनादर्ता आफ्नो लेबल लगाएर खाद्यान्न र दलहन बिक्री गरेपछि ५० हजार जरिवाना गरेको छ । म्याद गुज्रिएको सामग्री बिक्रि गर्ने उर्लाबारीको दिपेन्द्र किराना पसललाई २ लाख जरिवाना गरेको छ ।

महँगो मदिरामा सस्तो मिसाउने, लेबल फेर्ने लगायतको काम गर्ने विराटनगरको न्यू डिएन ट्रेड्रसलाई ३ लाख जरिवाना गरेको छ । ट्रेडर्समा ६ जेष्ठमा अनुगमन गरिएको थियो ।

२५ जेठमा अनुगमन गर्दा हुलास प्यूरिफाइड वाटर इन्डष्ट्रिजले अनुचित व्यवसायजन्य क्रियाकलाप गरेकोले २ लाख जरिवाना गरिएको प्रमुख बरालले जानकारी दिए ।

कानूनविपरित व्यवसाय गर्दै भारतीय नागरिक

भारतीय नागरिक व्यवसाय गर्नु गैरकानूनी भए पनि खुल्ला रूपमा व्यापार गर्ने गरेको पाइएको छ । कुनै पनि प्रकारको व्यवसाय गर्न भारतीयलाई नेपालको कानूनले प्रतिबन्ध लागाएको हो ।

उनीहरूले कुनै पनि सरकारी निकायमा फर्म दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने गरेका छन् । जुन गैरकानूनी काम भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बताए ।

कार्यालयले २ फागुनमा अनुगमनको क्रममा विनादर्ता अण्डा पसलल सञ्चालन गर्ने भारतीय नागरिकलाई ५० हजार जरिवाना गरेको बरालले जानकारी दिए । यसले भारतीय नागरिक नेपालको कानूनविपरित व्यवसाय सञ्चालनमा सक्रिय रहेको देखिन्छ ।

नेपालको नागरिकले मात्र व्यापार व्यवसाय दार्ता गर्न सक्छ भारतीय नागरिकले स्थानीय, प्रदेश वा संघका कार्यालयहरूमा दर्ता भएर व्यवसाय गर्न नसक्ने उनले बताए । यद्यपि, कानूनअनुसार नेपालका उद्योगमा विदेशी नागरिकले लगानी गर्न सक्ने उनले बताए ।

निष्क्रिय स्थानीय तह

मुलुक संघीय संरचनामा गएसँगै स्थानीय तहले बजार अनुगमनको अधिकार पाएको छ । तर अधिकार भए पनि स्थानीय तहले अनुगमनलाई प्रभावकारी बनाउन सकेका छैनन् । स्थानीय तहले अनुगमनको लागि वाणिज्य, घरेलु र जिल्ला प्रशासन कार्यालयहरूकै मुुख ताक्ने गरेका छन् ।

राजनीतिक कारणले स्थानीय तहले अनुगमनको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन सकेका छैनन् । कतिपय फर्मलाई कारवाही गर्दा स्थानीय तहहरूले राजनैतिक दबाबमा परेर रोक्ने प्रयास गर्नेगरेको बरालको अनुभव छ ।

बजार भयाभह अवस्था भएकोले एउटा कार्यालयले मात्र अनुगमन गर्न सम्भव नभएको उनी बताउँछन् । उनले स्थानीय तह, प्रदेश सरकार सबैले अनुगमनलाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्ने बताए ।

jackson ribon