विराटनगर, ९ असार । ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदिले बगाएर ३ जना बेपत्ता भएका छन् । सोमबार तमोर नदीले बगाएर ३ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
हिजो दिउँसो २ बजेको समयमा घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बूलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्याई बेपत्ता भएका थिए ।
बेपत्ता रहेका लिम्बूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसैगरी सोमबार दिउँसो ३ बजे साथीहरूसँगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ वर्षीय सन्तोष तामाङ र १८ वर्षीय रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् ।
पौडी खेल्न गएका उनीहरूलाई अचानक नदीले बगाएको भनी अन्य साथीहरूले होहल्ला गरेपछि स्थानीयवासीहरूले खोजतलास गर्दा फेला नपरेको भनी इलाका प्रहरी आठराइमा जानकारी गराएका थिए ।
स्थानीयको जानकारीपछि स्थानीयसँगै खटिएको प्रहरी टोलीले उनीहरूको खोजतलास जारी राखेको उक्त कार्यालयले जनाएको छ ।