झुक्किएर खातामा एक लाख २० हजार डलर जम्मा भएपछि

विराटनगर, ९ असार । संयुक्त राज्य अमेरिकामा एउटा दम्पतीको बैंक खातामा झुक्किएर एक लाख डलर जम्मा भएको थियो ।

३१ मेमा बीबी एन्ड टी बैंकले स्थानीय लगानी फर्मलाई पठाउन लागिएको रकम त्रुटिवश विलीअम्ज दमपतिको बैंक अकाउन्टमा जम्मा भएको पेन्सल्भेनिअका एक अधिकारीले बताए ।

एक हजार डलर मात्र भएको रोबर्ट र टिफनी विलीअम्जको खातामा त्रुटिवश एक लाख २० हजार डलर जम्मा भएको र उनीहरूले अधिकांश रकम खर्च गरेको प्रहरीले बताएका हुन् ।

बैंकले गरेको त्रुटि २० जुनमा पत्ता लागेको थियो । तर त्यति बेलासम्म खाताबाट झन्डै एक लाख सात हजार डलर निकालिसकिएको थियो ।

त्रुटि भएको पत्ता लागेपछि बैंकले सम्पर्क गर्दा टिफनीले आफूसँग पैसा बाँकी नभएको र सबै खर्च भइसकेको बताएकी थिइन् ।

प्रहरीका अनुसार खातामा ठूलो रकम आएको देखेपछि विलीअम्ज दम्पतीले महँगो गाडी र घरका अन्य सामग्री किनेका थिए ।

साथै, उनीहरूले सो रकम आफ्नो नभएको थाहा भएको स्वीकारेका छन् ।

उनले पैसा फिर्ता गर्ने सहमतिको प्रयासका लागि श्रीमान्‌सँग कुरा गर्ने बताएपनि त्यसपछि उनीहरू बैंकसँग सम्पर्कविहीन भएका थिए ।

उनीहरूलाई चोरी गरेको र चोरीको सामग्री लिएको अभियोग लगाइएको छ । स्थानीय अदालतमा उपस्थित गराइएपछि अहिले उनीहरू धरौटीमा छुटेका छन् ।

Loading...