स्वास्थ्य सामाग्री खरिदमा मन्त्रीको भूमिका शंकास्पद

काठमाडौ, ८ असार । कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदहरुले बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री, विज्ञ सल्लाहकार र मन्त्रालयका अधिकारीहरुको भूमिका शंकास्पद भएको बताएका हुन ।

समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहसँग स्वास्थ्य सामग्री खरिद कार्यमा भएको अनियमितताका विषयमा छलफल गरेको छ ।

छलफलमा सांसदहरुले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिन मन्त्री र विज्ञ सल्लाहकारले गरेको हतारोले पनि अनियमितता भएको स्पस्ट हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले गत १२ चैतमा दिनभर बैठक गरेर काम गरेको देखिएकाले मन्त्री र सल्लाहकारलाई आशंका गर्ने ठाउँ देखिएको बताए । ‘कामचाहिं यति जरुरी भएको देखिन्छ कि १२ गते दुईवटा बैठक एउटा एक बजे देखि कतिबजे सम्म, फेरी राती सातबजेपछि कति बजेसम्म बैठक बस्यो त्यो भन्न सकिदैन् ।’ उनले भने ‘ र के चाहिं देखिन्छ भने राती सात बजेको बैठक सकिएर तय भएर अनेकौं पत्राचारहरु भएको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि सांसद धर्मशिला चापागाईंले महामारीका बेला अनियमितता गरेको कुरा आउँदा जनताले राम्रो नसोचेको भन्दै अनियमितता गर्ने छुट कसैलाई नभएको बताइन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सूर्यप्रसाद पाठकले सामान ल्याउन नसकेको भन्दै ओम्नी समुहलाई रोक्ने काम भएकाले ओम्नीलाई समान ल्याउन दिने कमिटिले अनियमितताको जिम्मा लिनुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले मन्त्रीका सल्लाहकारको भूमिका सन्देहपूर्ण रहेको बताए । मन्त्रीका सल्लाहकारले गरेको निर्णयको जिमेवारी मन्त्रीले नै लिनुपर्ने बताए । ‘एकै दिन सबै निर्णय भयो रातारात सबै दौडधुप पनि भयो कि सल्लाहकारलाई नै प्रमुख जिम्मा दिएर काम गरेको थियो ।’ उनले भने ‘ मैले बुझ्ने के हो भने सल्लाहकारको नेतृत्वमा भएको निर्णयको सबै जिम्मेवारी उहाँले सल्लाह जसलाई दिनुपर्ने हो त्यहीं पुग्छ ।’

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले राजन केसीले अनियमितताको विषय बाहिर आउने डरले तत्कालिन सचिव र डिजीलाई सरुवा गरिएको हुनसक्ने बताए । कोरोना भाइरस रोगको सम्बन्धमा विज्ञको रुपमा नियुक्त गरिएको व्यक्तिलाई सामान खरिदको संयोजक बनाउनु नै अनियमितताको मनस्थिति देखिने बताए ।

Loading...