कोरोना रोकथामको हिसाब माग्दै प्रदेशसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

विराटनगर, ८ असार । नेपाली कांग्रेसको अवरोधका कारण १ नम्बर प्रदेशसभाको बैठक स्थगित भएको छ ।

कोरोना रोकथाममा सरकारले गरेको खर्च सार्वजनिक गर्न माग गर्दै कांग्रेसले बैठकमा अवरोध गरेपछि मंगलबार सम्मका लागि बैठक स्थगित भएको हो ।

सोमबारको बैठकमा अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले दलका तर्फबाट एकजनालाई बोल्न दिए ।

दलका तर्फबाट बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना रोकथामका लागि गरेको खर्च सार्वजनिक गर्न माग गरे ।

संघीयताका लागि प्रदेश सरकार लड्न नसकेको, काठमाडौं जान संघकै कार्यालयबाट पास लिनु परेको र  संसदमा सांसदहरुले उठाएका प्रश्नका जवाफ नदिएका कारण बैठक अवरुद्ध गरेको बताए ।

मुख्यमन्त्रीले सबै प्रश्नको जवाफ नदिएसम्म बैठक चल्न नदिने उनले बताए । सोमबारदेखि प्रदेश १ को आगामी आर्थिक बर्ष २०७७–७८ को विनियोजन विधेयकमाथिको छलफल सुरु हुने कार्यसूचि बनेको थियो ।

Loading...