समाचार स्रोतका रूपमा इन्स्टाग्राम ट्वीटरभन्दा अगाडि बढ्दै

विराटनगर, ७ असार । समाचार स्रोतको रूपमा सामाजिक सञ्जाल इन्स्टाग्राम ट्वीटरलाई उछिन्नतर्फ अघि बढिरहेको छ ।

अघिल्लो वर्ष समाचार प्राप्त गर्ने माध्यमका रूपमा आफूलाई हेर्ने प्रयोगकर्ता दोबर पारेको इन्स्टाग्राम, समाचार स्रोतको रूपमा रहेको ट्वीटरलाई उछिन्नतर्फ अघि बढिरहेको अनुसन्धानले देखाएको हो ।

रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट सन् २०२० ले सन् २०१८ यता समाचारका लागि इन्स्टाग्राम प्रयोग गर्ने प्रवृत्ति दोबरले बढेको देखाएको छ ।

४० वटा देशमा गरिएको सर्वेक्षणका अनुसार यूकेका १८ देखि २४ वर्षका झण्डै एक चौथाइ व्यक्तिहरूले जानकारी पाउनका लागि इन्स्टाग्रामलाई समाचारको श्रोतका रूपमा प्रयोग गरेको देखाएको थियो । र, ११ प्रतिशतले इन्स्टाग्रामलाई समाचारको लागि प्रयोग गर्छन् जुन ट्वीटरभन्दा एक अङ्कले कम हो ।

हालकै महिनाहरूमा चर्चित र व्यापक रूपमा विचारहरू आदानप्रदान भएका त्यस्ता समाचारहरूको विषय जलवायु परिवर्तन, ब्ल्याक लाइभ्स म्याटर भनिने अमेरिकामा जारी आन्दोलन र कोरोना भाइरस रहेको देखिएको छ । तर, सामाजिक सञ्जालहरू सबैभन्दा कम विश्वशनीय समाचार स्रोतहरू रहेको पनि पाइएको छ ।

Loading...