सुनसरी, ७ असार । सुनसरीमा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट भारत सुपौल ग्राम पञ्चायत–१ का २० वर्षीय लक्ष्मणकुमार पासवान र सोही स्थानका १९ वर्षीय अर्जुनकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिई उनीहरूको शरीर खानतलासी गर्दा कालो प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागूऔषध ब्राउनसुगर, भारतीय रुपैयाँ १२५०, र भारतका विभिन्न बैंकका एटीएम कार्डसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गत शुक्रबार दुवै जनालाई पक्राउ गरिएता पनि अनुसन्धानपश्चात आइतबार सार्वजनिक गरिएको उक्त कार्यालयले जनाएको छ ।