दिनहुँ पानी पर्दा फति ऋषिदेवको बिचल्ली

मोहन ढकाल

विराटनगर, ७ असार । फति मुसहर हिँडडुल गर्न सक्दैनन् । एक वर्षदेखि थलिएका छन् । अरुको बारी खन्ने र ठेला चलाएर परिवार पाल्दै आएका उनले काम गर्न नसकेको एक वर्षभन्दा बढी भयो ।

उनकी श्रीमती अरुको घरमा भाडा माँझ्ने र लुगा घुने काम गर्थिन् । उनको काम पनि लकडाउन भएपछि रोकिएको छ । पहिला काम गर्ने घरमा आजभोलि बोलाउँदैनन् । घरमा खाने अन्न छैन । कसैले दियो भने दुईचार दिन गुजारा चल्छ ।

तर उनीहरूलाई त्योभन्दा अर्को ठूलो पीडा थपिएको छ । बर्खा लाग्यो । अब दिनहुँजसो पानी पर्छ । पानी घरभित्र सबै पस्छ । सुत्ने खाटसमेत छैन् । घरको दायाँ बायाँ लगाएको टाटी पनि भत्किन थालेको छ ।

पानी पर्दा भुइँमा ओछ्याएको गुन्द्री सबै भिज्छ । न त बनाउन उनीहरूसँग पैसा नै छ । वडाले पनि सहयोग गरेको छैन् । फति भन्छन्, ‘काल पनि आउँदैन, यसरी तड्पिएर कतिञ्जेल बाँच्नु । थला नपरेको भए जसरी पनि झुप्रोलाई टालटुल गर्थेँ । रातभरि पानी पर्दा सुत्न पाईँदैन्, दिउँसो पनि त्यस्तै उनले भने यस्तो पीडा अरु कसैलाई नपरोस् ।’

उनकी श्रीमतिले भनिन्, ‘काम पाइँदैन । काम गर्न पाएको भए त आफैँ बनाउथेँ ।’ कसैले घर मर्मत गरिदिए आफूहरूको उद्धार हुने उनीहरूको भनाइ छ ।

चुनावका बेला सपना बाँड्ने नेताज्यू पनि उनको समस्यासँग बेखबर भएका छन् । फति भन्छन्, ‘भोट दिएर माथि पुर्‍याइदिने हामी आफैँ काल पर्खिएर बस्नुपर्छ । नत छिमेकीले नै सहयोग गर्न सक्छन् ।’

उनका छिमेकीको पनि काम चलेको छैन ।

Loading...