birat ribon

लयमा फर्कँदै विराटनगरको बजार

Neuro
लयमा फर्कँदै विराटनगरको बजार

शिवहाङ राई
विराटनगर, ७ असार । नेपाल सरकारले ३२ जेठबाट लकडाउन खकुलो बनाएसँगै विराटनगरको अवस्था सामान्य अवस्थामा फर्कन थालेको छ । लकडाउन खुकुलो भएसँगै उद्योग, बजार र व्यवसाय सञ्चालन हुन थालेका छन् । ८३ दिनसम्म घरमै बसेका सर्वसाधारण पनि विस्तारै बजारमा निस्कन थालेका छन् ।

Padelux insider
cura insider

विराटनगर महानगरपालिकाले भने २१ जेठबाट नै लकडाउन केही खुकुलो पार्दै बजार, पसल शर्तसहित खुल्ने अनुमति दिएको थियो । मध्याह्न १२ बजेसम्म मात्र खुलाउने र आवश्यक सुरक्षा सतर्कता अपनाउँदै व्यवसाय सञ्चालन गर्ने दिने निर्णय जिल्लास्तरीय कोरोना जोखिम व्यवस्थापन समितिले गरेको थियो ।

बजार, पसल खुल्ला गर्ने निर्णय भएपनि होटल, रेस्टुँरा, ब्यूटी पार्लर, सैलुन, सिनेमा हल, व्यायामशाला जस्ता भीडभाड हुने क्षेत्रलाई भने अझै सञ्चालन हुन अनुमति प्रदान गरिएको छैन ।

झण्डै तीन महिने लामो लकडाउनमा सुस्ताएको विराटनगरको बजार केही दिनयता लयमा फर्किँदैछ । लकडाउनका कारण सुस्ताएको बजारमा विस्तारै चहलपहल थपिँदैछ ।

विराटनगर–७ घाँस चौकका कपडा पसल सञ्चालन गर्दै आएका सुजन गुप्ता लुजडाउन भएसँगै बजारमा मानिसको उपस्थिति बढेको बताउँछन् । ‘मानिस आए त सामान खरिद गर्ने हो, व्यापार हुने हो,’ गुप्ता भन्छन्, ‘बजारमा मान्छे आउन थाल्नुभएको छ अब व्यापार हुन्छ भन्ने आशा छ ।’

खाजा नास्ता पसल सञ्चालन गर्दै आएकी रवीना यादव मानिसको चहलपहल बढेसँगै आफूले पनि व्यवसाय सुचारु गरेको बताउँछिन् । ‘दोकान नगरी तीन महिना घरमै बस्दा व्यवसाय चौपट्ट भयो,’ उनी भन्छिन्, ‘लकडाउन त खुल्यो, अलिअलि व्यापार पनि हुन थालेको छ तर कोरोनाको डर भने अझै छ ।’

दैनिक उपभोग्य खाद्यवस्तु बिक्री गर्ने पसल लकडाउनको अवधिभरि खुलेको भएपनि उपभोक्ताको संख्या अहिलेको जस्तो नरहेको अनुभव सुनाउँछन् विराटनगर–१४ का व्यापारी श्रवण चौधरी । ‘व्यापार सामान्य छ,’ चौधरी भन्छन्, ‘लकडाउनको भन्दा केही बढेको छ ।’

खाद्यान्न, दुग्द्य सामग्रीको व्यापारबाहेक तरकारी खेतीसमेत गर्ने चौधरी अन्यभन्दा तरकारी व्यापारबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । किसान र बिक्रेता, दुवै आफैं भएको र स्थानीय उपभोक्ताले नै सम्पूर्ण तरकारी खरिद गरिदिने भएकाले बजारको समस्या पनि नरहेको उनले बताए ।

लामो समयपछि व्यवसाय सुरु गर्न पाउँदा खुशी लागेको बताउँछन् हार्डवेयर सञ्चालक धिरज शाह । कृषि भवन नजिकै रहेको उनको हार्डवेयरमा यतिबेला निर्माण सामग्रीको राम्रो व्यापार भइरहेको छ । ‘आर्थिक वर्षको अन्त्यतिर भएकाले हो वा धेरै पछि पसल खुलेकाले हो व्यापार राम्रो भइरहेको छ,’ शाह भन्छन्, ‘लामो समयसम्म लकडाउन हुँदा व्यापारमा समस्या आएपनि पसल खोल्न पाएकोमा म खुशी छु । व्यापार हो, कहिले घाटा कहिले नाफा त भइहाल्छ नि !’

लकडाउन खुलुकलो भएसँगै व्यापारमा उल्लेख्य वृद्धि भएको गुद्री बजारका व्यापारी गोपाल शाह बताउँछन् । पहिले साइकलमा राखेर गाउँ–गाउँ डुलाउनु पर्ने बाध्यता रहेको भएपनि अहिले त्यस्तो गर्न नपर्ने शाहले बताए । ‘मानिसहरू बजारमा आइरहनु भएको छ, यहीबाट बिक्री हुन्छ, पहिलेको भन्दा व्यापार अहिले धेरै छ,’ उनले भने ।

लकडाउन खुकुलो भएपछि ठेलामा व्यापार गर्ने व्यवसायीहरूको पनि आम्दानी राम्रोसँग हुन थालेको छ । अतिथि सदन छेउमा ठेलामा आँप बेच्दै गर्दा भेटिएका रामसुरुप महतो पछिल्लो समय राम्रो आम्दानी हुन थालेको बताउँछन् । ‘हामी साना व्यापारीलाई लकडाउनले साँच्चिकै मर्कामा पारेको थियो,’ महतो भन्छन्, ‘भएको पैसा, सरकारले दिएको राहत सबै सकिसकेको थियो तर धन्न लकडाउन खुल्यो र व्यापार गर्न पाइयो ।’

छैन सुरक्षा सामग्री

लकडाउन खुकुलो भएपछि सञ्चालन भएका बजार, व्यवसाय र व्यापारीक क्षेत्रमा स्वास्थ्य सुरक्षा अपनाइएको भने देखिँदैन । यद्यपी, आफूहरूले सकेको जति सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गरिरहेको व्यापारीहरूको तर्क रहेको छ ।

व्यापारीहरूले सुरक्षित छौं भन्ने किसिमका तर्क पेश गरिरहेका भएपनि व्यापारीक क्षेत्र, बजार र पसलहरूमा धेरै भीडभाड हुने भएकाले ती क्षेत्रहरूमा संक्रमण नफैलिएला भन्न सक्ने स्थिति रहेको भने देखिँदैन ।

ठूला पसलहरूमा सामान खरिद गर्न आउने उपभोक्तालाई स्यानिटाइजरको प्रयोग र हात धुन अनिवार्य गरिएको भएपनि स–साना पसल र व्यापारमा भने यी कुरा लागू भएको पाइँदैन ।

ठेलामा व्यापार गर्ने महतो भन्छन्, ‘व्यापार नै सानो छ, फेरि यो ठेलामा कता पानी राख्नु, कता साबुन राख्नु ? अलिअलि आम्दनी हुन थालेको छ यसले स्यानिटाइजर किन्नु कि परिवार हेर्नु ?

खाद्यान्न व्यापारी चौधरी, नास्ता पसल सञ्चालिका यादव र कपडा व्यापारी गुप्ताको पनि यस्तै समस्या रहेको छ । तर पनि आफूहरूले सकेसम्म पसललाई सफा राखेको र सामाजिक दूरीको नियम भने पालना गरिरहेको उनीहरू बताउँछन् ।

हार्डवेयर सञ्चालक शाह भने पसलमा आउने मानिसलाई साबुनपानीले हात धुन अनिवार्य गरेको र आफूहरूले पनि पसलमा बस्दा मास्क, पञ्जा प्रयोग गरिरहेको बताउँछन् । शाह भन्छन् ‘आफूहरूले सक्ने जति सुरक्षा उपाय अपनाइरहेका छौं । सबै मिलेर स्वस्थ तरिकाले व्यापार गर्न सके व्यापारीलाई घाटा पनि हुँदैन, कोरोना संक्रमण पनि हुँदैन ।’

jackson ribon