बजेटले निजी क्षेत्रको मनोबल उच्च बनाउन सकेन

विराटनगर, ६ असार । प्रदेश र संघिय सरकारले ल्याएको बजेटले निजी क्षेत्रको मनोबल उच्च बनाउन नसकेको सरोकारवालाहरूले बताएका छन ।

प्रदेश १ सरकारले आर्थिक वर्ष ०७७– ०७८ को लागि विनियोजन गरेको बजेट सम्बन्धमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र एलिट क्लब विराटनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सहभागिहरूले यस्तो बताएका हुन ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारको बजेटलाई सबैले अपनत्व गर्ने गरी आउनुपर्ने बताए ।

‘हामीले आर्थिक सहयोग गर भनेर सरकारलाई प्रस्ताव गरेका छैनौं’ उनले भने ‘हाम्रो एउटै माग के हो भने सरकारले सबै क्षेत्रलाई वास्ता गर्नुपर्छ, सबै क्षेत्रको अपनत्व हुने गरी काम गर्नुपर्छ ।’ उद्योगी, व्यापारीहरु संकटसँग गुज्री रहँदा पनि राज्यले उत्थान हुने गरी केही सम्बोधन नगरेको उनले बताए ।

मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले लकडाउनका कारण थलिएको निजी क्षेत्रलाई सरकारले केही गर्न नसके पनि नीतिगत रुपमा व्यापारीलाई साथ दिने, मनोबल उच्च बनाउने किसिमका कार्यक्रम ल्याउन पर्नेमा प्रदेश सरकार चुकेको गुनासो गरे ।

स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट एकदमै सराहनीय भएको उनले बताए । प्रादेशिक औद्योगिक पार्क, प्रादेशिक अनुसन्धान केन्द्र आगामी वर्षको बजेट तथा कार्यक्रममा समेटिनु सकारात्मक भएको बताए ।

प्रदेशलाई आर्थिक रुपमा सबल बनाउन विमानस्थलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषय भुल्न नहुने उनको तर्क छ । ‘ धेरै ठाउँमा बजेट छर्नुभन्दा एउटा प्रोजेक्ट जसले प्रदेशको लागि नाम र दाम दुवै कमाउन सक्छ त्यस्तोमा एक पल्ट लगानी गर्ने हो भने यसले लामो समयसम्म फाईदा पु¥याउन सक्छ’ मुन्दडाले भने ‘औद्योगिकरणमा सरकारको ध्यान खासै नपुगेको जस्तो देखिन्छ ।’

प्रदेश सरकारको बजेट एवम् कार्यक्रम विषयमा कार्यपत्र प्रस्तुत गरेका अर्थविद एवम् एलिट क्लबका पूर्व महासचिव डाक्टर अर्जुन बरालले बजेट कम गर्दै छरितो बनाइएको भए पनि यसलाई निर्दिष्ट गर्न नसकिएको र धेरै ठाउँमा छरिएको बताए ।

कार्यक्रममा अधिकारकर्मी उत्तम ढुंगेल संकेटको अवस्थामा विनियोजन भएको बजेटमा धेरै सकारात्मक पक्ष समेटिएको भएपनि प्रभावकारीता हेर्न बाकीँ रहेको बताए ।

अंक होइन प्राथमिकता हेर्नुहोस्

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बजेटको अंकमा भन्दा पनि प्राथमिकतामा ध्यान दिनु पर्ने बताए ।

‘कुन कार्यक्रममा कति रकम विनियोजन गरियो त्यसको आधारमा विश्लेषण गर्नु भन्दा पनि सरकारको बजेटमा के कुराले प्राथमिकता पायो त्यो महत्वपूर्ण विषय हो’, उनले भने ।

महामारीबीच विनियोजन गरीएको बजेटमा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको भएपनि अन्य क्षेत्रलाई पनि सम्बोधन हुने गरी बजेट, कार्यक्रम ल्याइएको मन्त्री आङबोले बताए ।

‘सरकारले विनियोजन गरेको बजेटलाई अन्य देशसँग दाँजेर हेर्न हुँदैन, उनीहरु र हाम्रो अर्थतन्त्र समान छैनन्’ मन्त्री आङ्बोले भने ‘सरकारले ऋण लिएर, आन्तरिक स्रोत परिचालन गरेर वा अनुदान लिएर हुन्छ सबै क्षेत्रलाई राहत हुने गरी बजेट प्रस्तुत गर्ने प्रयास गरेको छ ।’

प्रचलित कानुन, संविधान र स्रोतको उपलब्धतालाई ध्यानमा राखेर नै बजेट बनाएको र महामारीको अन्त्य भएसँगै सबै क्षेत्र, पक्षसँग मिलेर अघि बढ्ने मन्त्री आङबोले बताएका छन् ।

उद्योग, व्यवसाय र पर्यटन क्षेत्रमा परेका असरको बारेमा बोल्दै मन्त्री आङ्बोले भने ‘निजी क्षेत्रसँग सहकार्य गर्दै छुट्टै कार्यदल बनाएर प्रभावको अध्ययन गरी सरकारले त्यसलाई कसरी सम्बोधन गर्न सक्छ त्यही अनुसार अघि बढ्ने प्रस्ताव मैले बजेटमा नै समावेश गरेको छु । यसलाई प्राथमिकतामा पनि राखिएको छ ।’

उद्योगी व्यवसायीको लागि ब्याँज मिनाहा र रि–फाइनेन्सिङको कार्यक्रम पनि ल्याइसकेको अवस्था रहेको र सरकारको तर्फबाट गरिनु पर्ने सबै खाले काम भएको बताउँदै मन्त्री आङ्बोले निजी क्षेत्र हतोत्साहित नभई अगाडि बढ्न आग्रह गरेका छन् ।

Loading...