साहित्य राजनीतिभन्दा धेरै माथि छः प्राज्ञ विवश पोखरेल

विवश पोखरेल, नेपाली साहित्यमा सिर्जनशील कवि तथा कथाकार हुन् । चार दशकभन्दा बढी समयदेखि उनी नेपाली भाषा साहित्यको सेवा गरिरहेका छन् । जसका अनिदो रात र बत्तीका पुतलीहरू, निषिद्ध बस्तीमा (कवितासङ्ग्रह), समयबिम्ब, स्नेहअस्त्र (कथासङ्ग्रह), कर्कलाको छाता, फुच्चे भाइको घोडा (बालकवितासङ्ग्रह), साँढेको दाइँ (ब्यङ्ग्य निबन्धसङ्ग्रह) पग्लिएको इन्द्रेनी (मुक्तकसङ्ग्रह)सहित आठ कृति प्रकाशित छन् ।

राष्ट्रिय प्रतिभा पुरस्कार, पेन नेपाल कथा पुरस्कार, प्रतिभा पुरस्कार, मोहन रेग्मी स्मृति पुरस्कार, धरणीधर पुरस्कार, प्रमोदराज साबित्री देवी पाण्डे साहित्य पुरस्कार, महालक्ष्मी साहित्य पुरस्कार, भानु स्वर्ण पदक, रिमाल वनिताश्री सम्मान, यमुनादेवी, वैजनाथ भट्टराई साहित्य पुरस्कार, विनय रावल स्मृति साहित्य पुरस्कार, जीवन रेग्मी साहित्य पुरस्कार, नेत्रशोभा साहित्य स्मृति पुरस्कार, जेसिज सम्मान, प्याब्सन सम्मान, राष्ट्रसेवक सहकारी सम्मान, देवकोटा अभिनन्दन, भानु सम्मान लगायत पचासभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य रहेका पोखरेल, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष, आरोहण गुरुकुलका महासचिव, नेपाली लेखक संघका केन्द्रीय उपाध्यक्ष, दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका अध्यक्ष लगायत विराटनगरका दर्जनौ संस्थामा आवद्ध छन् । न्याय सेवामा बीस वर्ष सेवा गरेर स्वैच्छिक सेवा निवृत भएपछि पूर्ण रूपमा साहित्य सेवामा समर्पित पोखरेलले आधा दर्जनभन्दा बढी कृतिको सम्पादनसमेत गरेका छन् । प्रस्तुत छ पोखरेलसँग कोशी अनलाइनका लागि रामप्रसाद पौडेलले गरेको कुराकानी ।

साहित्य लेखनको सुरुवात कसरी गर्नुभयो ?

म एउटा गाउँमा जन्मिएँ । म जन्मिएको गाउँ महेन्द्रनगर चक्रघट्टी सुनसरी, जहाँको प्राकृतिक सौन्दर्य, त्यहाँको जनजीवन, भूगोलको प्रभावले साहित्यमा रूचि जगायो । अग्रज स्रष्टा बीपी कोइराला, रमेश विकल, देवकोटा, लेखनाथ पौडेल, गुरुप्रसाद मैनाली, शंकर लामिछाने विजय मल्ल आदि स्रष्टाहरूका रचना पढेपछि लेखनमा अभिप्रेरित गर्यो र लेख्न थालें । विशेष गरेर म जन्मिएको गाउँ बाढी–पीडित गाउँ थियो । त्यसैले त्यहाँको सुख–दुःखले पनि प्रभावित पार्यो मलाई । त्यहाँको पीडा संवेदना साहित्य सिर्जनाको आधार बन्यो र साहित्यमा आएँ ।

वास्तवमा साहित्य सिर्जनाका आधारहरू के–के हुन ? साहित्यमा के–के कुरा प्रतिबिम्बित हुनुपर्छ ?

जीवन समय र प्रकृति नै सााहित्य सिर्जनाका आधारहरू हुन् । यिनै कुरा साहित्यिक रचनागर्भ पनि हो, जहाँ हामी आफूलाई पाउँछौ । खुसीले, पीडाले जब कुनै व्यक्तिको हृदयलाई प्रभावित पार्छ अनि साहित्य जन्मिन्छ ।

संवेदना, विद्रोह र प्रकृति यी तीन कुरा स्रष्टाका लागि महत्वपूर्ण हुन्छन् । यसैको परिवेश र परिधिमा रहेर स्रष्टाहरू आफ्ना साहित्य सिर्जना गर्छन् । जहाँ समय, जीवन र प्रकृति प्रतिबिम्बित हुन्छन् । जहाँ हामी हाम्रै भोगाईका दृश्य–परिदृश्य पाउँछौ ।

कस्ता साहित्य पाठकप्रिय हुन्छन् ? हालसम्म प्रकाशित तपाईंका कृतिमध्ये पाठकले रूचाएका कृति कुन–कुन हुन् ?

मेरो लेखनको प्रारम्भ कविताबाट भयो । र त्यसको दश वर्षपछि मैले कथा लेख्न थालेको हुँ । कथाका दुई, कविताका दुई, बाल साहित्यका दुई, मुक्तक एक र ब्यङ्ग्य निबन्ध एक गरी आठ कृति अहिलेसम्म प्रकाशित छन् । यही कृति पाठकले रुचाए भनेर भन्न सक्दिन, सकिन्न पनि । कुनै सङ्ग्रहका केही कथा, केही कविता अत्यधिक रुचाएका छन् पाठकले । प्रत्येक पाठकका आ–आफ्ना रूचि हुन्छन् । त्यसैले कसैले कथा मन पराउँछन् कसैले कविता । त्यसो त मेरा बाल कविताहरू पनि केटाकेटीहरूले मन पराएका छन् । केही त स्कुलको पाठ्यक्रममा समेत समावेश छ ।

एउटा मनदेखि अर्को मनसम्म पुग्ने माध्यम रहेछ साहित्य । आफ्नो मनबाट अर्को मनसम्म पुग्ने काम गाह्रो हो । कोसिसमा छु । सुरुमा आत्मसन्तुष्टिका लागि आफ्ना अनुभूतिहरू शब्द भावमा अभिव्यक्त गर्न थालें त्यही कथा बने, कविता बने । र एउटा साहित्य रुचाउने मान्छेलाई पाठकहरूले कवि कथाकार बनाइदिनुभयो । कुनै लक्ष्य र सर्त राखेर, कुनै सपना पालेर यस क्षेत्रमा प्रवेश गरेको थिइनँ । नजानेर नै यहाँसम्म आइयो । प्रायः विद्रोह र संवेदना रुचाउँदा रहेछन् पाठकहरूले ।

साहित्य अनुत्पादक हो भन्ने धेरैको बुझाइ छ, यहाँलाई कस्तो लाग्छ ?

आर्थिक प्राप्तिलाई हामी जीवनको उपलब्धि मान्छौं । यथार्थमा हो पनि, बाँच्नलाई हामीलाई पैसा चाहिन्छ । आदर्शका चन्दन लगाएर जीवन निर्वाह गर्न सकिन्न । आदर्श फलाक्नेहरू पनि अर्थकै लागि मरिहत्ते गरिरहेका छौं । अनेक कुकृत्य गरिरहेका छन् । तर जीवनमा सन्तुष्टि र आनन्द मानिसका लागि ठूलो कुरो हो । फूलले के दिन्छ, जूनले के दिन्छ ? हिमाल आरोहण गरेर के हुन्छ ? सौन्दर्य जीवनको खुसी हो, सन्तुष्टि जीवनको खुसी हो ।

त्यही खुसी र आनन्द हो साहित्य । गर्मीमा तपाई कतै लामो बाटो हिँडिरहनुभएको छ, थाक्नुभयो, बाटोमा एउटा शीतल चौतारी भेटेर जब तपाईं सुस्ताउनु हुन्छ त्यहाँको बतासको शीतलता, थकानको विश्राम हो साहित्य, जहाँ एउटा बेग्लै आनन्द हुन्छ । आफ्नो सिर्जनाले अत्यधिक मन प्रभावित पार्नु पनि एउटा उपलब्धि हो । अहिले त साहित्य लेखेर जीवन निर्वाह गर्न पनि सकिन्छ । आर्थिक कमाइभन्दा शुभेच्छुक कमाउन गाह्रो हुन्छ । लेखकका लागि पाठक, स्रोता प्राप्ति कुनै आर्थिक प्राप्तिभन्दा कम हुन्न । सत्ताभन्दा साहित्य माथि छ । एउटा स्रष्टा कहिले मर्दैन साहित्य जीवनको अमर उत्पादन हो । यसलाई अनुत्पादक भन्न मिल्दैन ।

साहित्यमा नयाँ पुस्ताको उपस्थितिलाई कसरी लिनुभएको छ ? संख्यात्मक र गुणात्मक उपस्थितिप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ ?

जिन्दगी एउटा प्लेटफर्म हो, जहाँ एउटा आउँछ अर्को जान्छ । अनवरत यो सिलसिला चलिरहन्छ । प्रकृतिको नियम पनि हो एउटा पात झर्छ र अर्को मुना पलाउँछ । नयाँ पुस्ताको उपस्थितिलाई मैले यही रूपमा लिएको छु । जसमध्ये केही अति अध्ययनशील चिन्तनशील छन् ।

नयाँनयाँ सोच चिन्तनसँगै आइरहेका छन् । यिनीहरू नेपाली साहित्यका सम्भावना हुन्, भविष्य हुन् । जसप्रति म आशावादी छु । प्रतिस्पर्धात्मक दौडमा धेरै हुन्छन् तीमध्ये केही मात्र सफल हुन्छन् । संख्यात्मक रूपमा नयाँ पुस्ताको बाक्लो उपस्थिति रहको छ, तर सबै नभनूँ गुणात्मक रूपका केहीको सिर्जनाशक्ति प्रभावशाली छ । जुनसुकै कुरामा पनि रहरभन्दा पनि त्याग समर्पण निष्ठा आवश्यक हुन्छ पक्कै मेहनती युवा पुस्ताले नेपाली साहित्यलाई अझ समृद्ध बनाउनेछन् ।

विश्वसाहित्य निकै अगाडि छ ? नेपाली साहित्य किन पछाडिको पछाडि ?

नेपाली साहित्यलाई विश्वसाहित्य मञ्चमा पुर्याउन नसक्नु सायद हाम्रो कमजोरी हो । नेपाली साहित्य पनि विश्वसाहित्यसँग प्रतिस्पर्धा गर्न सक्षम छ । तर अपेक्षाअनुरुप निष्पक्ष रूपमा उत्कृष्ट कृति अनुवाद हुन सकेका छैनन् । जेजति भएका छन् सामान्य कृति प्रभाव र पहुँचका आधारमा भएका छन् जसले विश्व साहित्यमा तरङ्ग ल्याउन सकेको छैन । यसतर्फ पहल गर्न आवश्यक छ ।

कवि केदारमान व्यथितले राजनीति भनेको शौचालय हो र साहित्य भनेको भोजनालय हो भनेका छन् अहिलेका धेरै साहित्यकारहरू भोजनालयमा शौचालयलाई भित्राउने काम गरिरहेका छन् नि ?

स्वार्थ, मोह प्रत्येक व्यक्तिको कमजोरी हो । ती कमजोरीले मानिसभित्रको आदर्श, नैतिकता र निष्ठालाई प्रभाव पारिरहेको हुन्छ । अपवाद जहाँ पनि हुन्छ, सबै साहित्यकार नभनौं केहीले भोजनालयलाई शौचालय बनाउने काम गरेका होलान् तर अधिकांश साहित्यकारले आफ्नो कर्तव्य र निष्ठालाई जोगाइराखेका छन् । जुनसुकै स्रष्टाको पनि लेखन र व्यवहार समान हुनपर्छ । साहित्य राजनीतिभन्दा धेरैमाथि र पवित्र छ त्यसैले व्यथितले यी कुरा भनेका हुन् । साहित्य राजनीति जस्तो प्रदूषित छैन, पवित्र छ ।

तपाईं सफल कवि कि कथाकार ? आफ्नो मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

अचेल म जत्तिको राम्रो लेख्ने, म जत्तिको जान्ने कोही छैन भन्ने गर्छन् साहित्यकार भन्ने आरोप धेरैलाई लाग्ने गरेको छ । कसै–कसैभित्र त्यो दम्भ र अह्म देखिन्छ पनि । तर लेखकको मूल्याङ्कन गर्ने अधिकार पाठक स्रोताको हुन्छ । आफूले आफ्नो मूल्याङ्कन गर्न सकिन्न तसर्थं यसको जवाफ मसँग छैन, पाठकलाई नै सोध्नुहोला ।

तपाईं त प्राज्ञ पनि हुनुहुन्छ, लेखकले लेखेरै गुणस्तरीय जीवन जिउनका लागि के गर्नु पर्ला जस्तो लाग्छ ?

स्रष्टाहरू भनेका देश र समाजका आदर्श हुन् । जसको लेखन र व्यवहारमा समानता हुनुपर्छ । लेखन र व्यवहारमा अन्तर हुनुहुन्न । लोभ मोहबाट टाढा रहेर आफ्नो लेखन शक्ति र सामथ्र्यले पाठक हृदयसम्म पुग्न सक्यो भने त्यो लेखक सँधै बाँच्छ ।

पाठकलाई तपाईंले पाँच पुस्तक पढ्ने सल्लाह दिनुपर्ने भयो भने ती पुस्तक कुन–कुन हुन्छन् होला ?

भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे, धच गोतामेको घामका पाइलाहरू,पारिजातको शिरिषको फूल, शंकर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन र प्याज, भैरव अर्यालको जयभुँडी । पाँच सोध्नुभयो दश भनेको भए अलिक सजिलो हुन्थ्यो । केही प्रिय लेखकमाथि अन्याय भयो । तथापि यी नेपाली साहित्यका राम्रा पुस्तक हुन् ।

साहित्यको कारणले जीवनमा पाएको ठूलो उपलब्धि र गुमाएको महत्वपूर्ण कुरा सम्झिन पर्दा के–के सम्झिनुहुन्छ ?

साहित्यमा लागेर तपाईहरू जस्ता धेरै प्रियजनको स्नेह र सद्भाव पाएँ, यो मेरो जीवनको ठूलो उपलब्धि मान्छु । अन्य धेरै कुरा गुमे पनि त्यो गुम्नुको कारण साहित्य हो भन्ने लाग्दैन । मैलै जीवनको दुईटा बाटोमा एउटा रोज्दा साहित्य रोजें । तर पनि साहित्यमा लागेकोमा गुनासो छैन । सही बाटो रोजे जस्तो लाग्छ ।

Loading...