लकडाउनले बढ्यो बजारभाउ : उपभोक्ता भन्छन् – दैनिकी चलाउनै गाह्रो भयो

बबिता लिम्बू,
विराटनगर, ६ असार । लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको बजार मूल्य आकासिएको छ । कोरोना संक्रमण फैलिन नदिन सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको हो ।

लकडाउनअघि तोकिएको मूल्यभन्दा दैनिक उपभोग्य खाद्यान्न वस्तुहरूमा दसदेखि पन्ध्र रुपैयाँसम्म वृद्धि भएको छ । खाद्यान्न वस्तु जस्तै चामल, तेल, नुन, दाललगायतको मूल्य वृद्धि भएको हो ।

लकडाउनका कारण ढुवानी महंगो एका कारण मूल्यवृद्धि भएको विराटनगर–२ का खाद्यान्न व्यापारी भगवत सिंह बताउँछन् । ‘लकडाउनमा ढुवानी भाडा महँगो भएकाले मूल्य वृद्धि गर्नुपरेको हो,’ उनले भने, ‘तर उपभोक्तालाई मार पर्नेगरी वृद्धि भएको छैन ।’

खुद्रा व्यापारी अशोक भगत ठूलो बिक्रेताले बढाएका कारण आफूहरूले पनि मूल्य बढाउनु परेको बताउँछन् । खरिद मूल्यमा गिरावट नभएसम्म बजार मूल्य नघट्ने उनले बताए । ‘हामी त किराना पसल चलाएर बस्ने त हो, सामानका मूल्य हामीले तोक्ने हैन,’ विराटनगर–३ स्थित खुशी किरानाका सञ्चालक भगत भन्छन्, ‘सामान नबेची थन्काएर बस्ने कुरा भएन । हाम्रो खरिद मूल्यमा नघटेसम्म कम मूल्यमा बेच्ने कुरा आउँदैन ।’

लकडाउनको बेला पहिलेको तुलनामा २५ प्रतिशतसम्म खाद्य वस्तुको मूल्यमा वृद्धि भएको व्यापारी भगत बताउँछन् ।

उपभोक्ता शोभा श्रेष्ठ लकडाउनको समयमा सामग्री महँगो भएको गुनासो गर्छिन् । ‘लकडाउन खुकुलो भएसँगै मूल्य घट्छ की भन्ने आश छ,’ विराटनगर–२ निवासी श्रेष्ठ भन्छिन्, ‘हामी जस्तो दैनिक किनेर खानुपर्ने मानिसहरूलाई मूल्य वृद्धिले धेरै असर गर्छ ।’

सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाए पनि लकडाउनलाई नै बाहाना बनाएर कतिपय व्यापारीले आफूखुशी मूल्य बढाएका छन् ।

२५ केजी चामलको बोरामा एक सय रुपैयाँले मूल्य वृद्धि भएको श्रेष्ठको भनाइ छ । ‘एक बोरा चामल लकडाउनअघि पन्ध्र सय ७५ मा पाइन्थ्यो,’ श्रेष्ठ भन्छिन्, ‘लकडाउनको अवधिमा बढेर सोह्र सय ७५ पुगेको थियो ।’

खाद्य वस्तुको मूल्यमा चर्काे वृद्धि हुँदा दैनिक ज्याला मजदूरी गरेर खाने सर्वसाधारण झन् मारमा परेका छन् । सहर बजारमा भन्दा पनि अझै दुर्गम क्षेत्रमा झन् विभिन्न बाहाना गरेर व्यापारीहरूले खाद्यान्नलगायतका मूल्य ह्वात्तै बढाएका छन् ।

बेलबारी नगरपालिका–४ काकुमकी दिलमाया मगर लकडाउन अघि पच्चासी रुपैयाँ पर्ने आधा लिटर सूर्यमुखी तेल ९५ रुपैयाँ तिरेर किन्नु परेको बताउँछिन् । दैनिक खाद्य वस्तु चिनीको मूल्य लकडाउन कारण २० रुपैयाँसम्म बढेको छ । पहिले ६० रुपैयाँ किलो पर्ने चिनी लकडाउनमा किलोको ८० रुपैयाँसम्म पुगेको उनले बताईन् । ‘खाद्य वस्तुको मूल्य आकासीयो भन्दैमा खानै छोड्ने कुरा पनि आउँदैन,’ उनले भनिन्, ‘बाँच्नलाई भएपनि खानै पर्‍यो नि ।’

वाणिज्य कार्यालय प्रमुख भन्छन् – मूल्य बढ्नु सामान्य

लकडाउन अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुनु सामान्य भएको वणिज्य कार्यालय प्रमुख हिमालय बराल बताउँछन् । ‘बन्दाबन्दीको बेला आपूर्ति र ढुवानीको खर्च बढेको कारण दस, पन्ध्र प्रतिशत दैनिक खाद्य वस्तुको मूल्यमा वृद्धि आउँनु स्वभाविक नै हो,’ उनी भन्छन्, ‘अनुगमन नभएको हैन, भएकै हो ।’

लकडाउनमा एक सय ५५ ठाउँमा अनुगमन गरेको उनले बताए । बजार निरीक्षक अधिकृतले अनुगमन गर्दा १२ लाख ५५ हजार जरिवाना संकलन भएको उनले बताए । ‘मूल्य वृद्धि भएको विषयमा उपभोक्ताबाट गुनासो, उजुरी आउँदा पहिले पनि कारवाही गरेकै हौं,’ उनले भने, ‘कारवाही गर्न जहिल्यै पनि तयार रहन्छौं ।’

Loading...