विराटनगर, ५ असार । शुक्रबार विराटनगरबाट १० जना कोरोना जितेर घर फर्किएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४ महिलासहित १० जना डिस्चार्ज भएका हुन् ।

शुक्रबार डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरङका २ जना छन् ।
डिस्चार्ज भएकाहरू २१ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरू २१ जेठदेखि २५ जेठसम्मको अवधिमा अस्पतालमा भर्ना भएको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिए ।
१० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ४ सय २२ छ ।
शुक्रबार झापाको दमक र मोरङको बुढीगंगामा १-१ जना थपिएका छन् । विराटनगर, सुन्दरहरैंचा र धरानमा अहिले १ सय ८८ जना उपचाररत छन् ।
कोशी कोभिड विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन सेन्टर सुन्दरहरैंचामा ८५ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना उपचाररत रहेका छन् ।