फेसबुकले हटायो ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित विज्ञापन

विराटनगर, ५ असार । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ ।

उल्टो रातो त्रिकोण भएको अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै फेसबुकले ट्रम्पको विज्ञापनमा हटाइदिएको हो ।

फेसबुकले उक्त विज्ञापनले आफ्नो नीतिको उल्लङ्घन गरेको बताएको छ ।

फेसबुकका अनुसार उल्टो रातो त्रिकोण जर्मनीमा नाजीहरूले कम्युनिस्टलगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे ।

ट्रम्पको चुनावी अभियानको व्यवस्थापन गरिरहेको समूहले भने उक्त विज्ञापन उग्रवामपन्थी समूह एन्टिफातर्फ लक्षित गरिएको बताएको छ ।

उक्त समूहले त्यो चिन्ह प्रयोग गर्ने गरेको उनीहरूको दाबी छ ।

उक्त विज्ञापन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका नाममा खोलिएका फेसबुक पेजहरूमा प्रकाशन गरिएको थियो ।

करिब २४ घण्टासम्म रहेका ती विज्ञापन फेसबुकले हटाउनुअघि लाखौँले हेरिसकेका छन् ।

फेसबुकले अझै पनि इमोजीका रूपमा उल्टो रातो त्रिकोण प्रयोगमा राखेको छ ।

ट्रम्पको चुनावी अभियानका प्रवक्ताले उक्त चिन्ह उनीहरूले प्रयोग गरेको चिन्ह जस्तै रहेको बताएका छन् ।

Loading...